img

नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायाे


काठमाडौं,५ फागुन । आईसीसी क्रिकेट वर्ल्ड कप समूह २ अन्तर्गत  शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।      आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार गरेपछि नेपालको जित सम्भव भएको हो । १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।                  अनिलले ५७ र आसिफले ५४ नटआउट रन बनाए । ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रनको आक्रमक पाली खेल्दै आउट भए । डच टिमका विलियन किंग्माले एक विकेट हात पारे ।

यसअघि, बलिङमा कुशल भुर्तेल चम्किएपछि नेदरल्याण्ड्स १ सय ३७ रनमा अलआउट भएको थियो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले समेत राम्रो प्रर्दशन गरे । उनले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट झारेका थिए ।

नेदरल्याण्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए । उनलाई भुर्तेलले बोल्ड गरेका थिए । बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन ।

नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो । नेदरल्याण्ड्सलाई हराउँदै नेपालले समुह २ अन्तर्गत तालिकामा २ अंकको खाता खोलेको छ ।


प्रतिक्रिया दिनुहोस् ।