img

हिंसाको बलमा प्राप्त जस्तोसुकै उपलब्धि धेरै समयसम्म टिक्न असम्भव : उपेन्द्र यादव


काठमाडौँ ४, फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हिंसाको बलमा प्राप्त जस्तोसुकै उपलब्धि धेरै समयसम्म टिक्न सम्भव नभएको टिप्पणी गरेका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले अहिंसाको बाटोले मात्रै मुलुकमा प्राप्त उपलब्धिको रक्षा एवं स्थायित्व दिने बताए ।
शुक्रबार जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजना गरेको नेपाल–भारतको समाजवादी आन्दोलनमा डा. राममनोहर लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले समाजवादी विचारधारालाई अनुसरण गर्दै समाजमा पछाडि पारिएका वर्ग र समुदायको सशक्तीकरणका लागि अहिंसाको मार्ग अवलम्बन गरी सबैलाई मिलेर संघर्ष गर्न आह्वान गरे ।                                     हिंसाले कुनै पनि मुलुकलाई स्थायित्व नदिएको जिकिर गर्दै अध्यक्ष यादवले सिंगो मुलुक र समाजलाई सही दिशा प्रदान गर्न आजको समयमा समाजवादी चिन्तन झनै सान्दर्भिक रहेको बताए । अध्यक्ष यादवले अन्यायमा परेका नेपाल र भारतका जनताको हक अधिकार सुनिश्चितताका लागि दुवै देशका समाजवादी चिन्तकका बीच साझा सहकार्यको आवश्यक्ता रहेको औल्याए ।
अध्यक्ष यादवले पछाडि परेका तथा विभेदमा पारिएका जनताको हक, अधिकार र सामाजिक न्याय एवं उनीहरुको सशक्तीकरणका लागि समाजवादी आन्दोलनलाई निर्णायक बिन्दुमा पुर्याउन आफूहरू संघर्षरत रहेको बताए ।
सो अवसरमा भारतका समाजवादी चिन्तक डा. सुनिलम्ले नेपालका समाजवादी शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न सके मात्र विभेदमा परेकाहरूको हक अधिकारका लागि अधिकतम् कार्य एवं उत्थान गर्न सकिने बताए ।
डा. सुनिलमले नेपाल र भारत दुबै देशमा कृषक र मजदूर वर्गमाथि चरम विभेद र अन्याय कायम रहेकोले द्वयदेशिय समाजवादी चिन्तकका बीच संघर्षको चरणमा सहकार्यको आवश्यक्तामा जोड दिए।


प्रतिक्रिया दिनुहोस् ।