img

सहकारीकाे ऋण तिर्न नसक्दाँ तनाबले आत्महत्या


छिन्नमस्ता(सप्तरी) १० माघ । छोराको विवाह गर्दा लिएर ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका २ स्थित रमपुराका ४५ वर्षीय रामदेव मरिक आत्महत्या गरेका छन् । मरिक परिवारका अनुसार दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेव किस्तासमेत तिर्न नसक्दा तनावमै रहेका थिए ।
सोमबार राति खाना खाएर सुतेका उनलाई घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान गाउँले देखेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।
२० वर्षीय जेठो छोरा राजकुमार मरिकको गत वैशाख १ मा भारतबाट विवाह गरेका थिए । विवाह गर्न रामदेवले गाउँमै ब्याजमा ऋण लिएका थिए, त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिलादेवीलाई वित्तीय संस्थामा आबद्ध गराए । उर्मिलादेवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए । किस्ता चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ ।
हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको छोरा राजकुमारले बताए । किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए ।
तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको हुन सक्ने आफन्त युक्तिलाल मरिकले बताए । जिल्ला प्रहरी सप्तरीका डीएसपी नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस् ।