img

ब्युरोक्रेसीमा बबालै बबाल


काठमाण्डाैं,२७ असाेज ।  नयाँ सचिव आउँदै छन् भनेपछि मन्त्रालयमा घडा मात्र थापिएन, कर्मचारी नै स्वागतार्थ खडा थिए, अघिल्लो बुधबार । मंगलबारको क्याबिनेटबाटै ‘ओके’ भइवरी प्रमाणीकरण हुने क्रममै थियो सचिव सरुवाको निर्णय ।

मुख्यसचिव बैकुण्ठ अर्यालसँगको भेटमा मणिराम गेलाललाई भनिएको थियो, बधाई छ तपाईंको शहरीमा सरुवा भइसक्यो भनेर तर रात रहे अग्राख पलाउँछ भनेझैं भोलिपल्ट बुझ्न खोज्दा चिठ्ठी नबनेको जवाफ पाए ।

यसरी उनीे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थन्काइएका छन् । अघिल्लो मंगलबारको क्याबिनेट बैठकले रविन्द्रनाथ श्रेष्ठ घर बसेसँगै रिक्त शहरी सचिवमा लैजान मणिराम गेलालका अलावा शिक्षा, मन्त्रालयतर्फ प्रविधि हेर्ने प्रमिलादेवी बज्राचार्य र राष्ट्रिय सतर्कता केन्द्रका सुरेश आचार्यको नाम टिपाएको थियो । एक मन्त्रीका अनुसार लामो समय शहरीमै सेवा गरेका हिसाबले मणिरामलाई नै पठाउने निर्णय ओके भयो । निर्णय सार्वजनिक भएसँगै बुधबार स्वागतार्थ मन्त्रालयका कर्मचारी तैनाथ थिए । पछि मन्त्री सीता गुरुङलाई कांग्रेसको मन्त्रालयमा एमालेनिकट सचिवलाई ल्याउन नहुने भन्ने सल्लाह कसले दिए कुन्नि ? गेलालले सरुवाको चिठ्ठी बुझ्नै पाएनन् । प्राविधिक सचिवहरू मणिराम गेलाल र रामआधार साहहरू रिङबाटै बाहिरिएपछि शहरी सचिव बन्ने दौडमा सुरेश र प्रमिलामध्ये कसले बाजी मार्छन्, हेर्न बाँकी नै छ ।

उता, सुशासनको नारालाई मूल मन्त्र बनाएको सरकारले सात दिनपछि अनिवार्य अवकाशमा जान लागेका एक सहसचिवको ‘आँशु पुछिदिने’ भएको छ ।

विगतमा महाश्रम शर्मालाई एक दिन, सूर्यप्रसाद आचार्यलाई ३ दिन र शंकरप्रसाद खराललाई ४ दिन, श्री आचार्य, वीरबहादुर राईहरूलाई केही दिनका लागि मात्र सचिव बनाएको नजिरमा टेकेर अर्जुनजंग थापालाई सचिवमा उकाल्न खोजिएको छ । १० असोजमा शहरी सचिव रवीन्द्रलाई उमेर हद लागेसँगै एउटा प्राविधिक सचिव पद रिक्त छ भने सचिवमा उक्लने प्रतिस्पर्धामा छन् विश्वबाबु पुडासैनी, अर्जुनजंग थापा र सरिता दवाडी ।

पुडासैनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको भूमिकामा छन् भने थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख र दवाडी ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयअन्तर्गत जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशक छिन् । थापा वरिष्ठताका आधारमा दोस्रो नम्बरमा छन् ।

उनी कात्तिक ६ गते अष्टमीकै दिन उमेर हद लागेर घर जाँदै छन् । त्यसअघि ४ गतेदेखि नै दशैँको सार्वजनिक बिदा हुने हुँदा उनी सचिव बढुवा भए पनि पदस्थापनसमेत नभई घर जाने सम्भावना छ । विगतमा सात दिने सचिव वीरबहादुर राईलाई लोकसेवा आयोग, एकदिने सचिव महाश्रम शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष बनाइएको थियो । साभार ःजनअास्था डटकम


प्रतिक्रिया दिनुहोस् ।