img

मंसिर ४ गते भएको प्रतिनिधीसभाका उम्मेदबारले खर्च विवरण सार्वजनिक गरेनन् , सप्तरीका ४६ जनालाई जरिवाना


कञ्चनपुर, १० श्रावण। गत मंसिर ४ गते भएको प्रतिनिधीसभाको निर्वाचनमा उम्मेदबार बनेर निर्वाचन खर्च सार्वजनिक नगर्ने सप्तरीका ४६ जना उम्मेदबारलाई आयोगले जरिवाना तोकेको छ ।

निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदबारलाई निर्वाचन आयोगले रु १५ हजार जरिवाना तोकेको हो ।

निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधीभित्र विवरण सार्वजनिक नगर्नेलाई निर्वाचन –कसुर तथा सजाय, ऐन २०७३ को दफा ३१ को उपधारा (४) बमोजिम जरिवाना तोकिएको आयोगले जनाएको छ ।
सप्तरीबाट उम्मेदबारी दिएका ४६ जना उम्मेदबारलाई आयोगले जरिवाना तोकेको छ । जरिवाना तोकिएकोमा जित्नेदेखि हार्ने उम्मेदबार समेत छन् । क्षेत्र नम्बर २ बाट चुनाव लडेर हारेका जसपा अध्यक्ष उपेन्द्र यादव र क्षेत्र नम्बर ३ बाट जितेका नेपाली कांग्रेसका दिनेश कुमार यादवलाई पनि जरिवाना तोकिएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का १४ जना, क्षेत्र नम्बर २ का १२ जना, क्षेत्र नम्बर ३ का १२ जना र क्षेत्र नम्बर ४ का ८ जना उम्मेदबारलाई आयोगले जरिवाना तोकेको छ ।

तोकिएको जरिवाना ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न तथा निर्वाचन खर्चको विवरण ७ दिनभित्र सम्बन्धित सार्वजनिक गरी सोको जानकारी गराउन आयोगले भनेको छ ।
जरिवाना वापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदबारलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय भएको आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस् ।