img

मधेश प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार, को को थपिए ?


जनकपुरधाम,२० माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

मुख्यमन्त्री यादवले मन्त्रीमण्डलमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीहरूलाई सहभागी गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सहभागी मन्त्रीहरूले आजै शपथसमेत लिएका छन् ।

मधेश प्रदेश सरकारको मन्त्रिहरू नामावली ।

गठबन्धन दलहरुमध्ये नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी नगराई मुख्यमन्त्री यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।

प्रदेश सरकारको ६ वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन् । जसअनुसार जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास र सिंगासन सा कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने शत्रुधन प्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, मो जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।

जनमत पार्टीबाट संसदीय दलका नेता महेश प्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

त्यस्तै, राज्यमन्त्रीहरूमा जसपाका शेख अबुकलाम आजादलाई सामाजिक विकास मन्त्रालय, आज मात्र नेकपा एमालेमा प्रवेश गरेका केशव राय चौधरीलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका संजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैंसँग राखेका छन् ।गत पुस २९ गते तीन जना विनाविभागीय मन्त्रीसहित मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री यादवले तीन सातापछि मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

यसअघि मुख्यमन्त्री यादवले माघ १२ गते नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।

सत्ता साझेदर दल माओवादी केन्द्रले भने सरकारमा सहभागी भएको छैन । मन्त्रालय भागबण्डाको क्रममा एउटा मन्त्रालय मात्रै दिने भनिए पछि माओवादीले मन्त्री पठाएको छैन ।  साभार : लेकान्तर डटकम

 


प्रतिक्रिया दिनुहोस् ।