img

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार घाम लाग्ने, आइतबारदेखि वर्षा हुने


अपूर्व समाचारदाता ।
काठमाडौं,१८ माघ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि हल्का वर्षा भएको छ ।

हल्का वर्षाको सम्भावना

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भने वर्षासँगै हिमपात पनि भएको छ ।
पश्चिमी वायुको अहिलेको प्रणाली पूर्वतिर सर्दै जाने क्रममा काठमाडौंमा पनि छिटपुट वर्षा भएकोले र तराईमा पनि हल्का बर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्ने क्रममा छ । त्यसैले पश्चिमतिर मौसममा सुधार भइसकेको छ । काठमाडौंको वर्षा पनि केही घण्टामै रोकिने महाशाखाले जनाएको छ ।
आइतबारदेखि बर्षा हुने
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज रातिदेखि नै काठमाडौंमा पानी पर्न रोकिने छ । भोलि काठमाडौंमा बादल लाग्ने सम्भावना छ । तर शनिबार भने घाम लाग्ने गरी बादल हट्ने उनले बताए ।
आइतबार भने फेरि पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा हुने प्रक्षेपण उनले गरे । ‘फेरि अर्को प्रणाली नेपाल आउँदैछ । तर अहिलेका मौसमी प्रणालीहरु कमजोर खालका भएकाले त्यसले ठूलो असर भने नपुर्याउने पूर्वानुमान छ ।

यद्यपि पानी पर्दा चिसो बढ्ने भएकाले जनजीवन प्रभावित हुने छ । चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र दीर्घरोगीहरुलाई बढी असर गर्ने भएकाले चिसोबाट जोगिन ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

तर यो वर्षाले प्रदूषण कम हुने, हुस्सु तथा कुहिरो छिट्टै हट्न सहयोग मिल्ने र क्रमशः तापक्रम पनि वृद्धि हुँदै जाने मौसमविदहरु बताउँछन् ।

कहाँ कस्तो वर्षा ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार पश्चिम नेपालमा प्रक्षेपण गरेअनुसारकै हिमपात र वर्षा भएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा पश्चिम नेपालका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने उल्लेख थियो ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार सबैभन्दा धेरै डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटतिर ३२ मिलिमिटर, दैलेखतिर १५ देखि २० मिलिमिटरसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।
काठमाडौंको अवस्था कस्तो ?
आज अपराह्नदेखि काठमाडौं उपत्यकामा पनि पानी परेको छ । यसअघि मौसमविदले काठमाडौंमा पानी पर्ने सम्भावना कम रहेको जनाएका थिए । परिहालेछ भने पनि फाट्टफुट्ट मात्र पर्ने उनीहरुको भनाइ थियो ।

 


प्रतिक्रिया दिनुहोस् ।