img

उपप्रमुख प्रवीण जुटिन सरसफाई अभियानमा, एकैदिन पाँचसय डस्टविन वितरण


राजविराजमा नगरपालिकाकी उपप्रमुख इसरत प्रवीण नगरको सरसफाई अभियानमा जुटेकी छिन् । राजविराज नगर क्षेत्रको फोहर व्यवस्थापन गर्ने उद्देश्यका साथ उपप्रमुख प्रवीण सरसफाई अभियानमा जुटेकी हुन् ।

जथाभावी फोहोर फाल्ने र नगर क्षेत्र दुर्गन्धित हुन थालेपछि उपप्रमुख आफै सरसफाई अभियानमा लागेकी छिन् । अभियान अन्तर्गत उपप्रमुख प्रवीणले मंगलबार ५ सय डस्टविन वितरण गरेकी छिन् । राजविराज नगरपालिका अन्तर्गतका मुख्य बजार क्षेत्र र चौकहरुको घर पसल र होटलहरुमा आफै उपस्थित भई डस्टविन वितरण गरेको उपप्रमुख प्रवीणले बताईन् ।

राजविराज नगरपालिकालाई सुन्दर र सफा शहर निर्माण गर्ने अभियान शुरु गरेको छु, सर्वसाधारणलाई डस्टविन वितरण गर्दै उपप्रमुख प्रवीणले भनिन्, तपाईंहरुको साथ सहयोगले मात्र राजविराज नगरपालिकालाई सफा र सुन्दर शहरको रुपमा विकास गर्न सकिन्छ । उपप्रमुख प्रवीणले घरबाट निस्किने फोहरमैला डस्टविनमा राखेर सहयोग गरिदिन समेत आग्रह गरिन् ।

सरसफाइ अभियानमा जनप्रतिनिधि, कर्मचारी लगायतका सरसफाई अभियन्ताहरुको समेत उपस्थिति रहेको थियो । राजविराज नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै नालाको फोहरमैला सफा गर्ने लगायतका सरसफाई अभियानलाई तिब्रता दिएका छन् ।


प्रतिक्रिया दिनुहोस् ।