img

पढाई हुने कक्षा कोठामा निर्वाचन अधिकृतको कार्यालय


अवधेशकुमार झा
राजविराज,२१ असोज । दसैं बिदापछि यही असोज २४ गते सप्तरीको सर्वोदय उच्च माध्यमिक विद्यालय कंचनपुर खुल्ने तालिका छ । तर असोज २० गते बिहीबार नै विद्यालयको कक्षा संचालन हुने कोठामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कक्षा ३, ४ र ५ को पढाई हुने कोठामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको प्रधानाध्यापक तारानन्द मल्लिकले बताए ।

सर्वोदय उच्च माध्यमिक विद्यालय कंचनपुरमा १ नं.निर्वाचन अधिकृतको कार्यालय

निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्तादेखि मतगणनासम्म हुने कार्यक्रम छ । असोज २४ गतेदेखि उक्त विद्यालय खुल्ने भएकाले कार्यालय स्थापनाले पढाई प्रभावित हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै उक्त विद्यालयमा हतियारसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बिहीबार सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय संचालनमा ल्याइएको हो । जसअन्तर्गत क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय कंचनरुप नगरपालिकाको कंचनपुरस्थित सर्वोदय उच्च माविको भवनमा खोलिएको हो ।

‘प्रेसर थेग्न सकिएन्, पढाई हुने कक्षा कोठा निर्वाचन अधिकृतको कार्यालय खोल्न दिनुपर्‍यो,’ प्रधानाध्यापक मल्लिकले भने,‘नगर प्रमुखदेखि सुरक्षा प्रमुखसम्मले राष्ट्रिय कार्यक्रम भन्दै भवन दिन भनेपछि दिनैपर्‍यो ।’ प्रधानाध्यापक मल्लिकका अनुसार अहिले निर्वाचन अधिकृतको कार्यालय खोलिएको कोठामा कक्षा ३, ४ र ५ को पढाई हुँदै आएको छ ।

पढाई हुने कक्षा कोठामा निर्वाचन अधिकृतको कार्यालय खोलिएपछि अब अन्य कोठामा सार्नुपर्ने स्थिति छ । ‘अहिले दुइटा कोठा लिनुभएको छ, एउटा कोठा थप्नुपर्ने भन्नुभएको छ,’ प्रधानाध्यापक मल्लिकले भने,‘विद्यालयमा कक्षा कोठाको अभावबीच पढाई हुने कोठामा निर्वाचन अधिकृतको कार्यालय खोलिएपछि ती कक्षा व्यवस्थापन गर्नु चुनौती थपिएको छ ।’

कंचनरुप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ताले विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय खोल्न उचित नभएको बताए । ‘म सँग सल्लाह त गर्नुभएको थियो तर सर्वोदय उच्च माविमै खोल्छु भनेर भन्नु भएन,’ नगर प्रमुख गुप्ताले भने,‘बिहीबार दिउँसो कार्यालयको बोर्डसमेत लगाएको अवस्थामा म पुगें । अब त्यतिबेला विरोध गर्नु पनि भएन ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्वाचन अधिकृतको कार्यालय स्थापनाले विद्यालयको पढाई प्रभावित भए पुनर्विचार गर्ने बताए । सप्तरी क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले स्थानीय पालिका र प्रशासनले सोही स्थान दिएकाले कार्यालय खोलिएको बताए ।

सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले विद्यालयमा पढाई नै प्रभावित हुने गरी निर्वाचन अधिकृतको कार्यालय नहुनु पर्ने बताए । ‘विद्यालयमै त खोल्नु हुँदैन तर विकल्प नभेटिएपछि खोलिएको हो,’ मुख्य निर्वाचन अधिकृत रावलले भने,‘अझै उपयुक्त स्थानको खोजीमा छौं ।’

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सकेसम्म विद्यालयमै निर्वाचन अधिकृतको कार्यालय नखोल्नुपर्ने बताए । यसबारे आफूले बुझ्ने उनले आश्वासन दिए । साभार ः इकान्तिपुर डटकम

 

 


प्रतिक्रिया दिनुहोस् ।