अपूर्व न्यूज समाचारदाता ।
फतेपुर,२५ बैशाख । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. २ स्थित दुई महत्वपूर्ण पूर्वाधार निर्माण योजनाको शिलान्यास गर्नुभएको छ।
साे मन्त्री लेखीले प्रदेश सरकारबाट कुल २५ लाख रुपैयाँ विनियोजन गरिएको सांस्कृतिक संग्रहालय निर्माण कार्य तथा ४० लाख रुपैयाँको बजेटमा स्वास्थ्य चौकीको स्तरोन्नति परियोजनाको शिलान्यास गर्नुभएको हो। दुबै परियोजना वडा नं. २ स्थित सिद्धिपुरमा सञ्चालन हुनेछन्।
शिलान्यास कार्यक्रममा सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल, वडा नं. २ का वडा अध्यक्ष जाहिर हुसेन, वडा नं. ३ का देवकान्त गोजेवार, वडा नं. ५ का गोसाइँ चौधरी, नेकपा एमाले सप्तकोशी नगर कमिटी अध्यक्ष क. पारस दाहालसहित सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
साे मन्त्री लेखीले पूर्वाधार विकासमार्फत जनताको जीवनस्तर उकास्ने प्रदेश सरकारको प्रतिबद्धता दोहोर्याउँदै स्थानीय तहसँग सहकार्यमा विकास निर्माण अघि बढाइने बताएका थिए।