अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,(सप्तरी) ५ माघ ५ । संद्यिय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले सप्तरीका तीन विद्यालयमा नयाँ भवन शिलान्यास सम्पन्न गरिएको हो ।
शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमहरूमा कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालय, वडा नं ३ को जनता आधारभूत विद्यालय, र हनुमाननगर कंकालिनी नगरपालिका–४ को श्री माध्यमिक विद्यालय मधवापुरको शिलान्यास गरिएको हो।

मन्त्री साहले भवन निर्माणले स्थानीय क्षेत्रको शैक्षिक गुणस्तर सुधार्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै सरकारले बालबालिका र ज्येष्ठ नागरिकहरूको हितका लागि प्रतिबद्ध रहेको बताए। उनले आधुनिक र सुविधासम्पन्न विद्यालय भवनले विद्यार्थीको भविष्य उज्यालो बनाउन भूमिका खेल्ने उल्लेख गरे।
उनले शैक्षिक विकासका लागि बजेट विनियोजनमा कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्याशी भोला पासवानको भूमिका महत्त्वपूर्ण रहेको बताए। “भोला पासवानले यस क्षेत्रका विद्यालयहरूका अभाव र समस्याहरूलाई विशेष प्राथमिकता दिएर ध्यानाकर्षण गराएका कारण यहाँका विद्यालयहरूलाई प्राथमिकतामा राखिएको हो,” मन्त्री साहले भने।
जनता आधारभूत विद्यालय, बरमझियामा आयोजित कार्यक्रममा मन्त्री साहले पाँच विद्यालयको भवन निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी गराए। उनले हिन्दू–मुस्लिम समुदायबीच सहिष्णुता कायम राख्न अधुरो मन्दिर निर्माण र कब्रिस्तानको घेराबेराबारे पनि जानकारी गराएको हो ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेल, वडा नं ८ का वडा अध्यक्ष कृष्ण प्रसाद साह, वडा नं १० का वडा अध्यक्ष दामोदर खडगा, वडा नं १ का वडा अध्यक्ष रब्बान खाँन, वडा नं ३ का वडा अध्यक्ष गुल्टेन चौधरी र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो ।
शिलान्यास कार्यक्रममा सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सहभागीहरूले विद्यालय भवन निर्माणले विद्यार्थीको सिकाइ सहज बनाउने र शिक्षण प्रक्रियामा सुधार ल्याउने विश्वास व्यक्त गरेको हो ।
विद्यालय प्रशासनले सरकारी अनुदान र सामुदायिक स्रोतको सहकार्यमा निर्माण प्रक्रिया अघि बढाइने जानकारी गराएको छ । सहभागीहरूले सामुदायिक सहभागिताको महत्त्व औँल्याउँदै निर्माण कार्यमा पूर्ण सहयोग गर्ने प्रतिज्ञा गरे।
कार्यक्रममा सहभागीहरूले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र यो परियोजनाले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरेको हो ।