इनरुवा (सुनसरी), १२ असोज । पानीको बहाव बढेपछि कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।

पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै साँझ ४ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिनुभयो ।

अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।
सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले प्रतिसेकेन्ड पाँच लाख २१ हजार क्युसेक नाघेको छ । पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उहाँले बताउनुभयो । यसका साथै सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोका समेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिएकाे हाे ।