img

किसानको धानमा दाना नलाग्दा किसानहरू मर्कामा


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धानखेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा मर्कामा परेका छन् ।

५० प्रतिशत अनुदानमा बीउ सुविधा र अन्य यान्त्रिकीकरणको सुविधा प्राप्त गरेर धानखेती गरेका ठोरी–३ का अधिकांश किसानको खेतमा बाला पसाए पनि दाना लागेको छ । धान जोन अन्तर्गत करिब १ सय १० बिघा र अन्य किसानले व्यक्तिगत रूपमा रोपेको धानमा बाला लागे पनि सुक्न थालेपछि किसान चिन्तित भएका छन् । धान जोन कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध भएको हर्दिनाथ–१ प्रजातिको धान लगाएका किसानको खेतमा नै बाला सुक्न थालेपछि लगानी र मेहनत दुवै खेर जान लागेको ठोरी–३ का नवनिर्वाचित अध्यक्ष शम्भु खड्काले बताए । ठोरी–३ मा सिंचाइको उपलब्धता र धानखेती धेरै हुने भएकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान जोन कार्यक्रम लागू छ । यस्तै, धान जोनमा सहभागी नभएका अन्य किसानहरूले समेत धानखेती गर्ने गरेका छन् । ठोरी–३ मा मात्र यस वर्ष करिब तीन सय बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको चैते धानमा दाना नलागेको स्थानीय अगुवा ठाकुरप्रसाद न्यौपानेले जानकारी दिए । बितेको चैतको पहिलो सातातिर धान रोपेको र विरुवा फस्टाएर बाला झुलेको भएपनि धानमा दाना नलाग्ने समस्या भेटिएको ठोरी गापाको कृषि शाखा प्रमुख चन्दन थारूले जानकारी दिए । उनले किसानले धानमा दाना नलागेको गुनासो गरेपछि फिल्डमा गएर हेर्दा धानबालीमा दाना नलागेको देखिएको बताए । यसको कारणबारे अध्ययन गर्न आएको कृषि ज्ञान केन्द्र, वीरगंजको टोलीले समेत कुनै निष्कर्ष निकाल्न सकेन ।

ejanakpurtoday


प्रतिक्रिया दिनुहोस् ।