राजकुमार पासवान ।
जनकपुरधाम,२८ साउन । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न मधेस भ्रमणलाई लक्षित गर्दै सुरक्षाको भरपर्दो र कडा व्यवस्था गर्न मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिएकाे हाे ।

बुधबार गृह मन्त्रालयमा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखीले प्रदेशभित्र सुरक्षा संयन्त्रलाई पूर्ण सतर्क रहन, समन्वय मजबुत बनाउन र आवश्यक पूर्वतयारी तत्काल सम्पन्न गर्न आदेश दिएका हुन्।
नेकपा एमालेका राष्ट्रिय अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली साउन ३० गते जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि मधेस आउने कार्यक्रम रहेको छ।
साउन ३० मा जनकपुर आउने ओली : मधेश प्रदेश प्रहरी प्रशासकीय भवन उद्घाटन गर्ने
सो अवसरमा धनुषा र महोत्तरी जिल्लाका दुई सडक योजनाको शिलान्यास गर्ने कार्यसूची पनि तय भएको गृहमन्त्री लेखीले जानकारी दिएकाे हाे ।
साे बैठकमा मुख्यमन्त्री तथा मन्त्री परिषद्का प्रमुख सचिव मदन भुजेल, गृह मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद वराल, नेपाली सेनाका पृतनापति कृष्ण बहादुर जिसी, मधेस प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धान मधेस प्रदेशका प्रमुख माधव प्रसाद तिमिल्सिना सहभागी थिए।
धनुषा–महोत्तरीका दुई सडक योजनाको शिलान्यास गर्ने ओलीको तयारी
त्यसैगरी धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालसहित जिल्ला तहका सुरक्षा निकायका प्रमुखहरू पनि उपस्थित थिए। बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै सुरक्षा संयन्त्रलाई कडा र चुस्तदुरुस्त बनाउने प्रतिबद्धता जनाएकाे हाे ।