img

नागरिकता सिफारिसमा डिजिटल प्रणाली , कञ्चनरुप वडा नं. ८ को पहल : वडा अध्यक्ष साह


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ६ असार । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ८ ले अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हाे।

 

जिल्ला प्रशासन कार्यालय ,सप्तरीले गृह मन्त्रालयकाे पत्रलाई २०८२ जेष्ठ ३० गते जारी गरिएको सुचना ।

बिहीबार डिजिटल प्रविधिको उपयोग गर्दै सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्यसहित सुरु गरिएको यो अभ्यासले अब नागरिकता सिफारिस प्रणालीलाई सरल, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

कञ्चनरुप नगरपालिका वडा नं.८ अध्यक्ष कृष्णप्रसाद साहका अनुसार वडा नं. ८ मा बसोबास गर्ने शम्भु कुसियैत यादवका छोरा रोनक यादवलाई ‘केन्द्रीय नागरिकता सूचना प्रणाली (CCIMS)’ प्रयोग गरी पहिलोपटक अनलाइनमार्फत नागरिकताको सिफारिस गरिएको हो।

उक्त प्रणालीमार्फत गरिएको सिफारिस सिधै इलाका प्रशासन कार्यालय कञ्चनपुर वा  जिल्ला प्रशासन कार्यालय सप्तरीको प्रणालीमा प्रविष्ट हुने भएकाले सेवा प्रक्रिया थप प्रभावकारी र भरपर्दो हुने विश्वास लिइएको हाे।
यस प्रणालीमार्फत नागरिकता सम्बन्धी अभिलेखहरू दीर्घकालीन रूपमा सुरक्षित हुने, विवरण दोहोरिन नदिने, अनावश्यक कागजी प्रक्रिया घटाउने र सेवाग्राहीको समय तथा खर्चको बचत हुने अपेक्षा गरिएको छ।

अब नागरिकता लिन लाइन होइन, अनलाइन कञ्चनरुपबाट सुरु भयो नयाँ अभ्यास : प्रवक्ता साह

साे गृह मन्त्रालय सूचना प्रविधि शाखाले २०८२ जेठ २६ गते जारी गरेको पत्रअनुसार २०८२ असार १ गतेदेखि देशभरका सबै स्थानीय तहहरूलाई अनिवार्य रूपमा CCIMS प्रणाली प्रयोग गरी नागरिकताको सिफारिस गर्न निर्देशन दिइएको छ।
अबदेखि नागरिकता लिन आउने सेवाग्राहीहरूले आफ्ना सम्बन्धित वडा कार्यालयबाट अनलाइन सिफारिस लिएर मात्र जिल्ला प्रशासन कार्यालयमा जानुपर्नेछ। अनलाइन प्रणालीमार्फत सेवा प्रवाहका कारण नागरिकताको सिफारिस प्रक्रिया पारदर्शी मात्र नभई प्रविधिमैत्री र नागरिकमैत्री पनि बन्ने विश्वास गरिएको छ।
स्थानीय सरकारबाट सुरु भएको यो डिजिटल अभ्यास समग्र नागरिकता वितरण प्रणालीमा गुणात्मक सुधार ल्याउने ऐतिहासिक पाइलाका रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस् ।