img

सत्ताको आडमा प्रेस स्वतन्त्रतामाथि प्रहार स्वीकार्य छैन : डा. अमरेश कुमार सिंह


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं, २९ जेष्ठ । सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले पत्रकार दिलभुषण पाठकमाथि समाचार सामग्री हटाउने आदेशको कडा विरोध गर्दै प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपको संज्ञा दिएका छन्।

सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह ।

बुधबार  सांसद डा. सिंहले आपनो सामाजिक सञ्जाल फेसबुक पेज मार्फत समाचार प्रकाशित एवम् प्रसारित गरिएको बारेमा पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको स्मरण गराउँदै भने, –  पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी काटिनु तथा “प्रसारण गरिएका समाचार वा सामग्रीप्रति कसैलाई असन्तुष्टि भए त्यसको निरूपण प्रेस काउन्सिलमार्फत विधिसम्मत ढंगले गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था हाम्रो संविधानमै छ।

पत्रकार दिलभुषण पाठक

तर यस्तो व्यवस्था हुँदाहुँदै राज्य संयन्त्रबाट फौजदारी प्रकृतिको प्रक्रिया अघि बढाइनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो।”

 “तानाशाही प्रवृत्तिका मुठ्ठीभर व्यक्तिले राज्य चलाएको संकेत : डा. अमरेश कुमार सिंह”

सांसद सिंहले थपे, “प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता लोकतान्त्रिक प्रणालीका आधारस्तम्भ हुन्। ती स्वतन्त्रतामाथि सत्ताको आडमा गरिएको कुनै पनि प्रहार स्वीकार्य हुन सक्दैन। पत्रकारमाथि डरत्रास सिर्जना गर्ने, सामग्री हटाउने निर्देशन दिने वा पक्राउ गर्ने प्रयास मात्र गैरकानुनी होइन, यो लोकतान्त्रिक मूल्य र मान्यतामाथिको सीधा आक्रमण हो।”
सांसद डा. सिंहले पत्रकार दिलभुषण पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “प्रेस स्वतन्त्रतामाथि हमला हुनु भनेको नागरिकको सूचना प्राप्त गर्ने अधिकारमाथि नै हमला हुनु हो। जुनसुकै समाचार हटाउन आदेश दिने कार्यले न केवल पत्रकारिताको मर्मलाई चोट पुर्‍याउँछ, यो स्वतन्त्रतामाथिको अतिक्रमण पनि हो।”

  “प्रेसमाथि हस्तक्षेप संविधान र कानुनको अपमान हो : सांसद सिंह”

उनका अनुसार अहिले देखिएको राज्य संयन्त्रको व्यवहारले प्रमाणित गर्छ कि देश कानुनको शासनमा होइन, केही मुठ्ठीभर तानाशाही प्रवृत्तिका व्यक्तिहरूको चलखेलमा चलेको छ।
साे सांसद डा. सिंहले लोकतन्त्र र संवैधानिक मूल्यहरूलाई बलियो बनाउन प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै नागरिक र संस्थाहरू एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएका छन्। उनले सम्बन्धित निकायहरूलाई कानुनी मर्यादा र प्रक्रिया अनुसार अघि बढ्न आग्रह गर्दै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न संसद र सरकार दुबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस् ।