img

सरकारद्वारा तीन दिने विशेष कार्यक्रम : जनकपुरमा गृहमन्त्रीसहित दर्जनौंले गरे रक्तदान


जनकपुर, १४ जेष्ठ । मधेस प्रदेश सरकारले गणतन्त्र दिवसलाई विशेष बनाउँदै तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर उत्सवको रूपमा मनाउने निर्णय गरेको हाे।

बुधबारदेखि सुरु भएको कार्यक्रमको पहिलो दिन सरसफाइ अभियानपछिको रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।

साे गृह, सञ्चार तथा कानून मन्त्रालयको संयोजनमा सम्पन्न रक्तदान कार्यक्रममा गृहमन्त्री राजकुमार लेखी र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघन प्रसाद सिंह स्वयं सहभागी भई रक्तदान गरेर उदाहरणीय पहल प्रस्तुत गरेका छन्।
यस अवसरमा मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद वराल, अन्य उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, तथा विभिन्न निकायका प्रतिनिधिहरू गरी दर्जनौं व्यक्तिले रक्तदान गरेका थिए।

कार्यक्रममा सहभागिता जनाउँदै गृहमन्त्री लेखीले गणतन्त्र दिवसलाई सेवा र समर्पणको माध्यम बनाउँदै प्रदेशवासीमा ऐक्यबद्धता र सामाजिक भावनाको सन्देश प्रवाह गर्न चाहिएको बताए।

प्रदेश सरकारले सार्वजनिक स्वास्थ्य, सफाइ र स्वतन्त्रता सन्देशलाई केन्द्रमा राखेर विविध कार्यक्रमको आयोजना गरिरहेको छ। भोलि गणतन्त्र दिवसको दोस्रो दिन, प्रेस स्वतन्त्रताको सम्मान स्वरूप प्रदेशभरिका स्वतन्त्रता सेनानी पत्रकारहरूलाई नगद पुरस्कार र कदरपत्र प्रदान गरी अभिनन्दन गरिनेछ।

मन्त्रालयद्वारा जारी कार्यक्रम तालिका अनुसार तेस्रो दिन विशेष सम्मान समारोहसहित सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ, जसमा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
गणतन्त्र दिवसलाई मात्र औपचारिकताको रूपमा सीमित नराखी, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसरका रूपमा लिनु पर्ने सोचका साथ मधेस प्रदेश सरकारको यो कदम सर्वत्र प्रशंसा गरिएको हाे।


प्रतिक्रिया दिनुहोस् ।