जनकपुरधाम, ९ जेष्ठ । गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या भयावह रूप लिँदै गएको बताउँदै यसको नियन्त्रणका लागि सबै सुरक्षा निकायलाई सक्रिय रूपमा खटिन निर्देशन दिएका हाे।
शुक्रवार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले लागुऔषधको अवैध कारोबार युवापुस्तालाई बिगार्ने खतरा रहेको उल्लेख गर्दै यसलाई नियन्त्रणमा लिन एकीकृत प्रयासको खाँचो औँल्याए । लागुऔषध नियन्त्रण आजको गम्भीर चुनौती बनेको छ। यसविरुद्ध प्रदेशभरका सुरक्षाकर्मीहरूले समन्वयात्मक ढंगमा काम गर्नुपर्छ,” मन्त्री लेखकले भने।
साे बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रहरी समायोजन प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन्।
साथै उनले विपद् व्यवस्थापनका लागि विशेष रणनीति तयार पार्नसमेत आग्रह गरेका छन्।
साे बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मल कुमार थापा, र मध्यपूर्वी पृतना मुख्यालयका प्रमुख कृष्णबहादुर जिसी उपस्थित थिए। साथै, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, एनडीआरआरएमए प्रमुख दिनेश भट्ट, प्रदेशका डिआइजीहरू, जिल्लास्तरीय प्रहरी प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरू पनि सहभागी भएका छन्।
चारवटै सुरक्षा निकायको सहभागितामा मधेश प्रदेशस्तरीय छलफल जारी
साे सुरक्षा बैठकमा सीमा क्षेत्रमा भइरहेको अवैध चोरी निकासी र यसको कारणले राजस्वमा परेको नकारात्मक असरबारे गम्भीर चासो व्यक्त गरिएको छ। अधिकारीहरूले नियन्त्रणका लागि थप प्रभावकारी रणनीति तयार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
नेपाल सरकारको गृह मन्त्रालय र मधेश प्रदेश सरकारकाे गृह, सञचार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश स्तरीय सुरक्षा गाेष्ठी सम्पन्न भएको हाे ।
मधेस प्रदेशको गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षता तथा नेपाल सरकारको गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्य र मधेसको मुख्यमन्त्री माननीय सतिश कुमार सिंहको विशिष्ट आतिथ्यमा जनकपुरधाममा आयोजना गरिएको हो।