img

प्रतिनिधिसभा निलम्बनमा सांसदको संख्या तीन पुगियो , सत्ता दल कांग्रेसका मोहन बस्नेत थपिए


अपूर्व न्यूुज समाचारदाता ।
काठमाडौं, २ जेष्ठ । प्रतिनिधिसभामा निलम्बनमा पर्ने सांसदहरूको संख्या तीन पुगेको छ, एक जना भने अझै फरार छन्।

प्रतिनिधिसभा

हालै टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेका छन्।
सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित बस्नेतसहित १६ जना व्यक्ति र २ कम्पनीविरुद्ध ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो। पूर्वमन्त्रीसमेत रहेका बस्नेतमाथिको मुद्दा दर्तापछि उनी स्वचालित रूपमा सांसद पदबाट निलम्बनमा परेका हुन्।
यसअघि विभिन्न आपराधिक अभियोगमा सांसद पद निलम्बनमा परेका एमाले सचिव टोपबहादुर रायमाझी र रास्वपाका सभापति रवि लामिछाने छन्।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा दुई वर्षदेखि निलम्बनमा छन् भने लामिछाने सहकारी ठगी आरोपमा मुद्दा दर्ता भएपछि निलम्बनमा परेका हुन्।

त्यसैगरी राप्रपाकी सांसद गीता बस्नेत सहकारी ठगी अभियोगमा फरार अवस्थामा रहेकी छन्। यद्यपि, कांग्रेसकै सांसद टेकबहादुर गुरुङ विशेष अदालतबाट दोषी ठहर भए पनि सर्वोच्च अदालतको आदेशले उनी पुनःसक्रिय भएर संसदमा सहभागी हुँदै आएका छन्।
सांसदहरूका विरुद्ध दायर मुद्दा र तिनीहरूका पदमा परेको असरले संसदको नैतिक धरातल र सार्वजनिक विश्वासमा गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया दिनुहोस् ।