img

शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुव्र्यवहार, प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय कंचनपुर

अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी), २२ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरस्थित गोवद्र्धन वैरागी जनता उच्च माध्यमिक विद्यालयका शिक्षक रमेश कुमार राउत आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

विद्यालयको कक्षाकोठामै दुव्र्यवहार
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करार सेवामा कार्यरत ३३ वर्षीय शिक्षक राउतले मंगलबार कक्षा १० मा अध्ययनरत एक छात्रालाई प्राक्टिकल विषयमा राम्रो अंक दिने बहानामा कक्षाकोठामा बोलाएर यौन दुव्र्यवहार गरेका थिए।

छात्राको प्रहरीसमक्षको बयानअनुसार राउतले जिउमा सुम्सुम्याउने, अंगालो हाल्ने, कपाल तान्ने र जबरजस्ती चुम्बन गर्न खोज्ने प्रयास गरेका थिए।

छात्राले प्रतिकार गर्दै चिच्याएपछि अन्य विद्यार्थी र अभिभावक घटनास्थलमा पुगेका थिए। यता विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पौडेलले घटनापछि विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको बताए। उनले भने, “यौन दुव्र्यवहारको आरोप गम्भीर छ। प्रहरी अनुसन्धानको निष्कर्षपछि आवश्यक कानुनी कारबाहीका लागि हामी पनि ठोस निर्णय लिन्छौँ।”

प्रहरी अनुसन्धान जारी
पीडित छात्राका आफन्तले बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन्। बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दा प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले,भने शिक्षक राउतलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी यौन दुव्र्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको छ।

स्थानीयको कडा प्रतिक्रिया
स्थानीय बासिन्दाहरूले विद्यालयजस्तो पवित्र स्थलमा भएको यो घटनाले समाजमा नकारात्मक सन्देश दिएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। विद्यार्थीलाई शिक्षा दिने ठाउँमा यस्तो आपत्तिजनक घटना हुनु दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कडा कानुनी सजाय दिनुपर्ने उनीहरूको माग छ।


प्रतिक्रिया दिनुहोस् ।