काठमाडौँ, ५ फागुन । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि उत्पन्न परिस्थितिका विषयमा नेपाल सरकारले गम्भीर कूटनीतिक पहल अघि बढाएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै प्रारम्भिक चरणबाटै सम्बन्धित पक्षसँग समन्वय सुरु गरिसकेको बताउनुभएको छ। हाल ओमानको औपचारिक भ्रमणमा रहनुभएकी मन्त्री देउवाले घटनासम्बन्धी समाचार सार्वजनिक भएलगत्तै कूटनीतिक तहबाट आवश्यक प्रक्रिया अघि बढाएको मन्त्री देउवाको सचिवालयले जानकारी दिएको हो ।
परराष्ट्रमन्त्री देउवाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई घटनाको वस्तुस्थिति बुझी तुरुन्तै आवश्यक पहल गर्न निर्देशन दिनुभएको छ।
राजदूत शर्माले नेपाली विद्यार्थीको सुरक्षाका लागि सक्रिय पहल गरिरहेको र केही समयअघि नै नेपाली दूतावास, नयाँ दिल्लीले घटनाबारे औपचारिक विज्ञप्ति प्रकाशित गरिसकेको जानकारी दिइएको छ।
यसैक्रममा मन्त्री देउवाले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग फोन वार्ता गरी नेपाली विद्यार्थीको सुरक्षाका लागि आवश्यक वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ। भारतीय पक्षले समेत यस विषयमा आवश्यक पहल भइरहेको आश्वासन दिएको उहाँको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले घटनाका सम्बन्धमा सतर्क रहँदै आवश्यक कूटनीतिक प्रयासहरू जारी राखेको बताइएको छ। मन्त्रालयले नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न थप समन्वय गर्ने र घटनाका पछिल्ला विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...