अपूर्व न्यूज समाचारदाता ।
राजविराज, ५ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सव सप्तरीको राजविराजमा भव्य रूपमा सम्पन्न गरिएको हो ।
राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय, राजविराजले नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमका राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनले दीप प्रज्वलन गरी उद्घाटन गरिन् । समावेशी पत्रकारिता र यसको विकासमा राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रविनले पछिल्लो समय राससले समावेशी समाचार प्रकाशन गरेपछि आमनागरिक खुशी भएको बताइन् ।
उहाँले स्थानीय तहमा भइरहेका गतिविधिहरू पारदर्शी बनाउन सकारात्मक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै, सूचनाको सही प्रवाहले नगरपालिकाको नीति निर्माणमा समेत सहयोग पुग्ने बताइन् ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालले पत्रकारितामा निष्पक्षता, पारदर्शिता र समावेशीकरणको आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार, राससले विविध भाषा र संस्कृतिलाई समेट्दै सम्पूर्ण समुदायका समाचारलाई प्रतिनिधित्व गर्नुपर्ने छ ।
सो मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झाले मैथिली भाषामा समाचार प्रकाशित हुन थालेकोमा खुशी व्यक्त गर्दै, अन्य भाषाका सामग्रीहरूलाई पनि बढावा दिनुपर्ने धारणा राख्नुभयो । साथै, श्रमजीवी पत्रकार ऐनअनुसार स्थानीय समाचारदाताहरूलाई उचित पारिश्रमिक दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देवले पछिल्लो समय पत्रकारितामा अनुशासन कमजोर बन्दै गएको बताउँदै पत्रकार आचारसंहिताको पालनामा कडाइ गर्नुपर्ने सुझाव दिनु भएको हो ।
कार्यक्रममा पूर्व अध्यक्ष मुरली प्रसाद यादव ले पत्रकारिताको दिगोपनका लागि समयमै उचित पारिश्रमिक व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार, कमजोर आर्थिक अवस्थाका कारण धेरै अनुभवी पत्रकारहरू अन्य पेशातर्फ आकर्षित भइरहेका छन्, जसले स्वतन्त्र पत्रकारितामा असर पु¥याएको छ।
त्यसैगरी पूर्व अध्यक्ष विष्णु प्रसाद मण्डलले सञ्चारमाध्यमलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिँदै राज्यको स्रोत–साधनमा सबै जाति, भाषा र समुदायको समान पहुँच हुनुपर्ने विचार राख्नु भएको हो ।
सिरहाका रासस प्रमुख सुदीप राउत ले राससले नेपालका विविध भाषा, संस्कृतिलाई समेट्दै पत्रकारितालाई फराकिलो बनाउँदै लगेपछि सकारात्मक परिवर्तन आएको बताउनु भएको हो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले स्वतन्त्र पत्रकारिताको महत्त्व, भ्रष्टाचारविरुद्धको निडर समाचार सम्प्रेषण, तथा समाजमा सकारात्मक प्रभाव पार्ने पत्रकारिताको आवश्यकता जस्ता विषयमा आफ्ना विचार राखे।
कार्यक्रमको अध्यक्षता राससका जिल्ला प्रमुख शम्भु प्रसाद यादव ले गर्नुभएको थियो भने वरिष्ठ पत्रकार अनिल कुमार अनल, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादव, भाषाविद् डा. सूर्यनारायण यादव, प्रेस चौतारी अध्यक्ष डम्बर राई, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष कृष्णा मण्डल, सामाजिक अभियन्ता राजेश विद्रोही लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य राससकर्मी अरुण कुमार यादवले गर्नुभएको थियो भने सञ्चालन उमेश साहले गर्नुभएको थियो ।
यस अवसरमा पूर्व राससकर्मी तथा वरिष्ठ पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
राससको यो वार्षिकोत्सवले समावेशी पत्रकारिताको सशक्तिकरण तथा निष्पक्ष सूचना सम्प्रेषणको आवश्यकतालाई थप बल पु¥याएको सहभागीहरूको भनाइ थियो ।