कठाैना,२ पुस । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–७ मझौरा क्षेत्रमा कठौना–पातो सडकखण्डको निर्माण कार्य अलपत्र परेपछि स्थानीयबासी चक्काजाम गरेको हाे।
धुलोले जनजीवन कष्टकर बनेको भन्दै उनीहरुले मंगलबार बिहान ९ बजेदेखि सडक अवरुद्ध गरेका हुन्।
स्थानीयको आरोप छ कि पटकपटक नगरपालिका र निर्माण कम्पनीलाई धुलो नियन्त्रणका लागि आग्रह गरे पनि सुनुवाइ नभएकोले बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको हो।
उनीहरुले तत्काल सडकमा पानी छर्केर धुलो नियन्त्रण गर्न र निर्माण कार्यलाई पूर्णता दिन माग गरेका छन्।
आन्दोलनकारीहरुले माग पूरा नभएसम्म चक्काजाम जारी राख्ने चेतावनी दिएका छन्। “हामीले धेरैपटक गुनासो गरेका थियौं, तर कसैले सुनुवाइ गरेन। धुलोका कारण बालबालिका, वृद्धवृद्धा र बिरामीलाई गम्भीर समस्या भएको छ,” एक स्थानीयले बताए।
यसैबीच पूर्व प्रदेशसभा सदस्य विदेश्वर कुमार यादवले पनि घटनाको विरोध गर्दै सरोकारवाला निकायको चुप्पीमाथि प्रश्न उठाएका छन्। उनले नगरप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र प्रशासन किन निष्क्रिय छन् भन्ने प्रश्न गर्दै जनताको पीडालाई बेवास्ता नगर्न आग्रह गरे।