img

भन्सार छली गर्दै अवैध सामानसहित दुई जना पक्राउ


अपूर्व न्यूज समाचारदाता ।
राजविराज,२१ कार्तिक ।
भन्सार छली अवैध रुपमा ल्याउदै गर्दा २ लाख १५ हजार ५ सय ७० रुपैयाँ बराबरको मोबाइल डाटा केबल र मोटरसाइकलसहित दुई व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार राति करिब ९ बजेको समयमा सप्तरीको खडक नगरपालिका–८ स्थित भदैयामा इलाका प्रहरी कार्यालय कल्याणपुर र बिसनुपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल (बजाज पल्सर, नम्बर ३ प ४६१७) सवार दुईजनालाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा मोबाइल डाटा केबल फेला पारेको हो। उक्त सामान भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको बताइएको छ। पक्राउ परेकामा सप्तरीको बलानविहुल गाउँपालिका वडा नं.५ का ४० वर्षीय सन्तोष यादव र  साेही बस्ने २२ वर्षीय सुवर्ण कुमार यादव रहेका छन् ।

बरामद सामानमध्ये मोबाइल डाटा केबलको मूल्य १ लाख ४० हजार ५ सय ३० रुपैयाँ रहेको छ भने मोटरसाइकलको मूल्य ७५ हजार रुपैयाँ रहेको बताइएको छ ।

प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि पक्राउ परेका व्यक्तिहरूसहित बरामद सामान भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ।

प्रहरीले यस प्रकारका अवैध क्रियाकलापलाई नियन्त्रण गर्न आगामी दिनमा पनि यस्ता कारबाहीलाई थप तीव्रता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस् ।