img

आफ्नै पार्टीको नेताबाट विकास योजनामा विरोध हुनु दुःखद : गृहमन्त्री लेखी


राजकुमार पासवान ।
फत्तेपुर (सप्तरी), १ भदौ। नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मधेस प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखीले जनताले स्वागत गरेका विकास योजनामा आफ्नै पार्टीका नेताबाट विरोध हुनु दुःखद भएको बताएकाे हाे।

मन्त्री लेखीको प्रतिक्रिया : मधेसमा विकासको लहर, आपनै पार्टीको नेता विरोधमा

आइतबार पूर्व प्रहरी दिवसको अवसरमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित पूर्व प्रहरी संगठनको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री लेखीले भने,“म आफैं गाउँ–गाउँ पुगेर प्रत्येक वडामा कम्तीमा आधादेखि एक दर्जनसम्म विकास योजनामा बजेट विनियोजन गरेको हुँ। ती योजनाबाट जनता खुसी छन्, तर आफ्नै पार्टीका नेताबाट विरोध हुनु पीडादायी छ।”
उक्त अवसरमा मन्त्री लेखीले चाडपर्वमा देखिन थालेको अनावश्यक खर्च र भड्किलोपन समाजका लागि हानिकारक भएको उल्लेख गर्दै, चाडपर्वलाई संस्कृतिसँगै अनुशासन र मर्यादामा मनाउन आग्रह गरे।
मधेस प्रदेश सरकारले मन्त्री लेखीकै पहलमा विनियोजन गरेको बजेटबाट पूर्व प्रहरी संगठनको कार्यालय भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने चौडण्डी–६ की शारदा पौडेललाई मन्त्री लेखीले दोसल्ला र कदरपत्र प्रदान गरी सम्मान गरेकाे
हाे ।

सांस्कृतिक संरक्षण र विकासका प्रयासमा गृहमन्त्री लेखीको सक्रियता

साे समारोहमा सप्तकोशी नगरपालिकाका मेयर कृष्ण प्रसाद ढकाल, उपमेयर रिता चौधरी, वडा नं. २ का अध्यक्ष एवम् युवा नेता जाहिर हुसेन, थारु संस्कृति संरक्षण मञ्चका अध्यक्ष गयानन्द चौधरीसहित पूर्व प्रहरी संगठनका पदाधिकारीहरूको उपस्थिति थियो।
त्यसैगरी मन्त्री लेखीले सोही दिन सप्तकोशी गाउँपालिका–२ सिद्धिपुरमा निर्मित सांस्कृतिक संग्रहालय भवनको पनि उद्घाटन गरे। उनले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि यस्ता संरचनाहरू अपरिहार्य भएको बताए।


प्रतिक्रिया दिनुहोस् ।