राजकुमार पासवान ।
राजविराज, ३० साउन । जनमत पार्टी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामापछि दलित कोटाकी निलम पासवानलाई समानुपातिक सदस्यका रूपमा सिफारिस गर्ने भएको छ।

गुरुङ आदिवासी जनजाति (महिला) कोटाबाट निर्वाचित भएकी थिइन् र पार्टीको बन्द सूचीमा पहिलो नम्बरमा रहेको नाम थियो। पुरुषतर्फ दोस्रो नम्बरमा रहेका राजनकुमार श्रेष्ठलाई नियमअनुसार सिफारिस गर्नुपर्ने भए पनि उनी विगत दुई वर्षदेखि पार्टी सम्पर्कमै नरहेको जनमत पार्टीका एक पदाधिकारीले जानकारी दिए।
पार्टीले बारम्बार सम्पर्क गर्न खोज्दा पनि श्रेष्ठ सम्पर्कमा आएनन्। जेठ २० गते पहिलोपटक स्पष्टीकरण सोधिए पनि उनले जवाफ नदिएपछि, बन्द सूचीबाट उनको नाम हटाउने प्रक्रिया सुरु गरिएको पार्टी स्रोतले जनाएको छ।
दुई वर्षदेखि सम्पर्कविहीन श्रेष्ठको नाम कटौती : पासवानको बारी
साे श्रेष्ठको नाम हटेपछि दलित कोटाको बन्द सूचीमा क्रमांक ४ मा रहेकी निलम पासवानको नाम निर्वाचन आयोगमा पठाउने तयारी गरिएको हो। सिरहा निवासी पासवान हाल लुम्बिनी प्रदेशमा बसोबास गर्दै आएकी छन्। साे पासवान जनमत पार्टीका केन्द्रीय सदस्यसमेत छिन् ।
साे जनमत पार्टीका अध्यक्ष डा. सीके राउत हाल विदेशमा रहेका कारण, उनी स्वदेश फर्केपछि आगामी हप्ताभित्र आयोगमा सिफारिस पठाइने जनाइएको छ।