राजकुमार पासवान ।
जनकपुरधाम, १२ साउन। सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित मधेश प्रदेश सरकारले पहिलोपटक व्यापक बीमा कार्यक्रम लागू गरेको हाे।

साे २०८२ साउन १ गतेदेखि औपचारिक रूपमा लागू भएको यो कार्यक्रम अन्तर्गत घरधुरी बीमा र नागरिक बीमा सुरु गरिएको हो।
कार्यक्रमको पहिलो चरणमा प्रदेशका एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकहरू बीमाको दायरामा ल्याइएको छ। मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अवधेशकुमार झाका अनुसार, करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षण व्यवस्था गरिएको छ। उनका अनुसार यो योजना सामाजिक सुरक्षाको दिशामा प्रदेश सरकारको ऐतिहासिक उपलब्धि हो।
मुख्यमन्त्री सिंहको पहलमा ५९ अर्बको बीमा सुरक्षा, पहिलो चरणमै १ लाख घरधुरी लाभान्वित
मुख्यमन्त्री सिंहको नेतृत्वमा अघि बढाइएको यो कार्यक्रमले सिमान्तकृत, विपन्न र जोखिममा परेका वर्गका नागरिकलाई प्राकृतिक विपद्, दुर्घटना र आकस्मिक मृत्यु जस्ता घटनाबाट सुरक्षित बनाउने उद्देश्य लिएको छ।
घरधुरी बीमाअन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधीहुरीलगायत आपतकालीन घटनाबाट भएको क्षतिको क्षतिपूर्ति प्रदान गरिनेछ। घरधुरी बीमाको अधिकतम दाबी रकम ५ लाख रुपैयाँ तोकिएको छ।
त्यस्तै नागरिक बीमाअन्तर्गत आकस्मिक मृत्यु, गम्भीर शारीरिक अपांगता तथा दुर्घटनाजन्य घाइते अवस्थामा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ।
बीमा अब अधिकार हो: मधेश सरकारको सामाजिक न्यायमा नयाँ अध्याय
बीमा दाबीका लागि आवश्यक पर्ने कागजातहरूमा प्रमाणसहितको निवेदन, प्रहरी प्रतिवेदन वा अस्पतालको उपचार विवरण, स्थानीय पालिकाको सिफारिस तथा नागरिकताको प्रमाण समावेश छन्। पारदर्शी र सहज कार्यविधि अपनाइएकोले पीडितले छिटो राहत प्राप्त गर्न सक्ने सरकारको दाबी छ।“बीमा कार्यक्रम सहानुभूतिमा आधारित होइन, राज्यको जिम्मेवारीप्रति प्रतिवद्धता हो,” प्रेस सल्लाहकार झाले भने, “यो कार्यक्रम मधेश प्रदेशको सामाजिक न्याय र नागरिकको सुरक्षित भविष्यप्रति समर्पित छ।”
प्राकृतिक विपद् र दुर्घटनाबाट नागरिकको सुरक्षा गर्न मधेशमा बीमा योजना लागू
यस बीमा कार्यक्रमले प्रदेशमा दिगो सामाजिक सुरक्षा प्रणाली निर्माणमा टेवा पुर्याउने विश्वास प्रदेश सरकारले व्यक्त गरेको छ। साथै, सरकारद्वारा सबै प्रदेशवासीलाई यो सुविधाको अधिकतम लाभ लिन आह्वान गरिएको हाे।