img

मुख्यमन्त्री सिंहको निर्देशनमा ट्याङ्करमार्फत सप्तरीमा खानेपानी वितरण


राजकुमार पासवान ।
जनकपुरधाम, ६ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनपछि सप्तरीमा खानेपानीको अभाव भोगिरहेका बासिन्दालाई राहतस्वरूप प्रदेश सरकारले दमकल/ट्याङ्करमार्फत् खानेपानी वितरण कार्य सुरु गरेको हाे।
हालसम्म रुपनी गाउँपालिका वडा नं. १ र २ मा खानेपानी वितरण सुरु भइसकेको छ। यस अतिरिक्त राजगढ गाउँपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, विष्णुपुर गाउँपालिका तथा सुरुङ्गा नगरपालिकामा समेत खानेपानी अभाव देखिएको बस्तीहरूमा पानी आपूर्ति कार्य विस्तार हुँदै गएको हाे।

प्रजिअ दहालको समन्वयमा नेपाली सेनासहित ट्याङ्कर अभियान सञ्चालन

खानेपानी आपूर्तिको यो अभियान प्रमुख जिल्ला अधिकारी भोला दहालको समन्वय, नेपाली सेनाको सहयोग तथा स्थानीय तहहरूको मागका आधारमा सञ्चालनमा आएको हो।
प्रदेश सरकारद्वारा व्यवस्थापन गरिएको दमकल तथा ट्याङ्करमार्फत आपूर्ति भइरहेको खानेपानीमा लाग्ने सम्पूर्ण खर्च समेत प्रदेश सरकारकै तर्फबाट व्यहोर्ने व्यवस्था गरिएको जानकारी दिइएको हाे।

फाइल फाेटाे

साे खानेपानी आपूर्तिलाई थप प्रभावकारी बनाउन प्रत्येक पालिकामा सम्पर्क व्यक्ति तोकिएको छ। साथै, समस्या देखिएमा ती सम्पर्क व्यक्तिमार्फत् तत्काल जानकारी दिन स्थानीयवासीलाई अनुरोध गरिएको हाे।


प्रतिक्रिया दिनुहोस् ।