img

जनमतको ०८४ को चुनाव मात्र नभइ, पुर्ण अधिकार प्राप्ति क्रान्तिको तयारी : डा. सिके राउत


राजकुमार पासवान ।
कलैया (बारा), ५ साउन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा संघीय सांसद डा. सिके राउतले आफुहरू आगामी निर्वाचन २०८४ को मात्र तयारीमा नभई ‘पुर्ण अधिकार प्राप्तिको क्रान्ति’को अभियानमा लागेको स्पष्ट पार्नु भएको हाे।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा संघीय सांसद डा. सिके राउत 

सोमबार बारा जिल्लाको कलैयामा आयोजित एक भव्य पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा प्रमुख अतिथि रहनुभएका डा. राउतले कार्यकर्ताहरुलाई क्रान्तिका लागि सतर्क र संगठित रहन आह्वान गर्नु भएको हाे।
“अरू ०८४ को निर्वाचनका लागि तयारी गरिरहेका छन्, तर हामी त पुर्ण अधिकार प्राप्तिको क्रान्तिरूपी युद्धको तयारीमा छौं,” उहाँले भन्नुभयो, “पुर्ण अधिकार प्राप्त नहुन्जेल जनमतको क्रान्ति जारी रहनेछ।”

जनमत पार्टी प्रवेश कार्यक्रम भव्य : डा. राउत, मन्त्रीहरू र ५ सय कार्यकर्ता सहभागी

उहाँले संघीयता आएपनि प्रदेशहरूलाई अधिकारविहीन बनाइएको आरोप लगाउँदै, सिंहदरबारबाटै प्रदेश सरकारलाई कमजोर र बदनाम गर्ने प्रयास भइरहेको बताउनु भएको हाे।
“जनतालाई सशक्त बनाउनु नै जनमत पार्टीको मूल एजेन्डा हो,” डा. राउतले दोहोर्याउनु भएकाे हाे।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनमत नेतृत्वमा गठन भएको प्रदेश सरकारको स्थायीत्वमाथि चलाइएको अफवाहको खण्डन गर्दै भन्नुभयो, “सरकार आज ढल्ने, भोलि ढल्ने भन्नेहरू १३ महिनादेखि हेर्दै छन्, हामी जनताको हितमा निरन्तर लागिरहेका छौं।”
उहाँले जिम्मेवारीमा रहँदा जनताको पक्षमा नडगमगाई काम गरिरहने र आवश्यक परे खुसीसाथ पद छोड्न तयार रहेको धारणा राख्नु भएको हाे।

मुख्यमन्त्री सिंहको जवाफ : “जनताको पक्षमा काम, कुर्सी जाँदा पनि गुनासो छैन

यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा, वन तथा वातावरण मन्त्री संजयकुमार यादव लगायतका नेताहरूले पनि सभालाई सम्बोधन गर्दै जनमत पार्टीको उद्देश्य, योजनाहरू र प्रदेश सरकारको कार्यसम्पादनबारे धारणा राखेका थिए।
पार्टी प्रवेश कार्यक्रममा पूर्वसंविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता, पूर्वप्रदेशसभा सदस्य पारस प्रसाद साहलगायत करिब ५ सय नेता तथा कार्यकर्ताले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई अध्यक्ष डा. राउत, मुख्यमन्त्री सिंह, मन्त्रीद्वय कुशवाहा र यादवले टिका र गम्छा लगाएर स्वागत गर्नुभएको हाे।


प्रतिक्रिया दिनुहोस् ।