जितेन्द्र खड्गा/सप्तरी
निजी विचार, (३ साउन २०८२) हाम्राे गणतान्त्रिक संविधानले महान उद्देश्यका साथ अभिब्यक्ति तथा प्रेस स्वतन्त्रताकाे ग्यारेन्टी गरेकाे छ । यसलाई सबै भन्दा बढी उपयाेग प्रेस जगतले, त्यसमा पनि पत्रकारले गरिरहेका छन् । लाेकतन्त्रकाे सबलिकरण, आम जनताकाे सुसूचित हुने अधिकारकाे संरक्षण, शक्ति पृथिकरण, संघियताकाे सुदृढीकरण, राष्ट्रियताकाे संरक्षण, भ्रष्टाचार नियन्त्रणमा सहयाेग पुर्याउने उदेश्यले प्रेस स्वतन्त्रताकाे माध्यमबाट यसकाे जिम्मा संविधानले पत्रकारलाई दिएकाे छ । यी महान जिम्मेवारी बाेक्ने भएकाले नै प्रेस जगतलाई राज्यकाे चाैथाे अंग जस्ता पदवीकाे पगडी गुथि दिएकाे हाे । संबैधानिक अधिकारका कारण सजिलै पहुँच बनाएका फेसबुकिया पत्रकार र केही अनलाइनवालहरुले समग्र पत्रकारिताकै खिल्ली उडाई रहेका छन् । यस्ता माध्यमहरुकाे सामग्री हेर्दा कसैलाई हँदैसम्म हाेच्याउन अभिप्रेरित देखिन्छ त कसैलाई नचाहिने गरि महान बनाउन अभिप्रेरित हुन्छन् ।
राजनीतिक यात्रा र सहयात्रीहरूको बिस्मृति
पछिल्लो पटक काठमाण्डौ केन्द्रित एक जना पत्रकार बिरेन्द्र केएम जीकाे फेसबुक स्टाटस र त्यस सामग्रीलाई मधेसलाईभ नामकाे अनलाईनमा आमसञ्चार प्राधिकरणका पुर्वअध्यक्ष श्यामसुन्दर यादव जीले प्रस्तुत गर्नुभएकाे समाचार सामग्रीलाई बुझाैं । बडाे चलाखीपुर्ण तरिकाले जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद डा. सिके राउतलाई हाेच्याएकाे छ भने साेही पार्टीका एक जना नेता जाे केही कारणले कारवाहीमा परेका छन्- दिपक साहलाई पाकसाप प्रमाणित गर्न उद्दत रहेकाे छ । यसबारे मैले खासै बेलिबिस्तार लगाउन चाहेकाे छैन । तर, कुनै खास र महान प्रयाेजन बाकेकाे अभियान, राजनीति दलकाे गठन, क्रान्तिकाे सुरुवात हुँदा कसैले नेतृत्व गरेकाे हुन्छ भने उनलाई साथ सहयाेग गर्ने अनेक प्रकारका सहयाेगीहरु हुन्छन् । प्रारम्भ कालका सबै सहयाेगी न त लक्ष्यसम्म पुग्छन् न त नेतृत्वसम्म नै पुग्छन् ।
मुलुकमा पञ्चायती ब्यस्थाबिरुद्ध प्रजातन्त्र स्थापनाकाे लडाइँले जन्म दिएकाे नेपाली काँग्रेसमा क्रान्तिकारी धारकाे नेतृत्व गर्ने गिरिजाप्रसाद काेईराला बारे थाेरै चर्चा गर्दैछु ।
राजनीतिमा महत्वाकांक्षा र अनुशासनको द्वन्द्व
गिरिजाबाबू पुर्व-पश्चिम दाैडाहाकाे क्रममा सप्तरीको भारदह चाैकमा रहेकाे भीखाे खड्गाकाे ओषधी पसल पछाडिको घरमा बस्नु हुन्थ्यो । खड्गा जीकाे कुनै बेला चर्चित त्याे ओषधी पसल दुई चार पटक गिरिजाबाबुकाे बसाइँ पछि तहस-नहस भयाे । ब्यवस्थाबिरुद्ध याे घरमा षड्यन्त्र हुन्छ भनी आराेपमा तत्कालीन प्रहरीले दर्जनाैं मुद्दा लगायाे र पसल पनि बन्द गरायाे । तर, गिरिजा बाबुकाे आउने क्रम जारि नै रहेकाे थियाे । उहाँले मन पराउने त्यतिबेला पाउने याक चुराेटकाे बटा खड्गाजीले दिनुभएकाे पैसाले म स्वयं किनेर गिरिजाबाबुकाे हाथमा दिने गर्थे । पछि खड्गा जीकाे आर्थिक अवस्था कमजाेर हुँदा पनि गिरिजाबाबु त्यहाँ आउँदा पैसा अभावमा खड्गा जीले दिनुभएकाे थाेरै पैसाबाट मात्र ४-५ खिल्ली याक चुराेट बटामा राखेर उहाँकाे हाथमा दशाैं पटक दिएकाे मलाई सम्झना नै छ । तर, गिरिजा बाबू देशकाे प्रधानमन्त्री बनेपछि भारदहस्थित खड्गा जीकाे घरमा आएकाे वा खड्गा जीकाे हाल समाचार बारे साेधीखाेजी गर्नु भएकाे मलाई थाहा छैन ।
नेतृत्वप्रति कुण्ठा वा आत्ममूल्याङ्कनको अभाव?
गिरिजाबाबुकाे आन्दोलन ताका उहाँकाे आदेशमा ज्यानकाे प्रवाह नगरि प्लेन अपहरण जस्ता गम्भीर घटना गर्ने दुर्गा सुवेदी, प्रदिप गिरि जस्ता दर्जनाैं सहयाेगीहरु गिरिजाबाबु पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकै बेला कारवाहीमा परे र राजनीति पटलबाट बिलुप्त जस्तै भए ।
अब, थाेरै कुरा मधेस राजनीति र मधेसी दलहरुकाे पनि गराैं ।
मधेसवादी राजनीतिका चर्चित नामहरु दुर्गानन्द झा, रामराजाप्रसाद सिंहहरुकाे कुरै छाडाैं । उहाँहरु कुनै खास दलकाे नेतृत्व गर्नु भएन र सत्तामा पहुँच पनि उहाँहरुकाे भएन । तर, गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी सरकारमा गएपछि पार्टीको स्थापनाकालिन सहयात्रीहरु कहाँ छन् ? उनीहरुका बारेमा पार्टी अध्यक्ष सिंहकाे तिताे अनुभव सुनाउने हाम्रा अग्रज पुस्ताहरुबाट जानकारी लिंदा हुन्छ । हाम्रा कालका पत्रकारहरुका लागि कुनै बेला चर्चित नाम थियाे- जयकृष्ण गाेईत । मधेशलाई छुट्टै देश बनाउने अभियानमा लाग्दा घर-जहान छाडेर साथ दिएका रणवीर सिंह, ज्वाला सिंह, प्रताप जस्ताहरु कहाँ छन ? के गर्दै छन् ? बिद्वान पत्रकारहरुलाई खाेजीकाे बिषय बनाउने आँट छ ?
पत्रकारिताको दायित्व: आलोचना कि आक्षेप?
मधेशी, दलित, आदिवासी-जनजाति लगायत उत्पीडनमा परेका सबैलाई अधिकार सम्पन्न बनाउने अभियानमा लाग्नु भएका उपेन्द्र यादवजीलाई साथ सहयाेग गर्नेहरुबारे पनि थाेरै चर्चा आवश्यक ठान्दछु । मधेसी जनअधिकार फाेरमकाे नामबाट अभियान थाल्दा उपेन्द्र जीकाे झाेला बाेक्ने एक मात्र बफादार ब्यक्ति बीपी यादव थिए । भाग्यनाथ गुप्ता, चन्द्रेश्वर यादव, रामरिझन यादवहरु उहाँलाई आँखा चिम्लेर उपेन्द्र जीलाई मद्धत गर्ने सहयात्रीहरु हुनुहुन्थ्यो । माओवादी आराेपमा बिहारकाे पटनामा भारतीय प्रहरीद्वारा गिरफ्तार भएपछि फाेरमकाे संगठन बिस्तार र अभियानलाई अगाडि बढाउने काम जेपी गुप्ताहरुले गरे । प्रवास(भारत)मा बस्दा उपेन्द्र जीकाे बिराटनगरस्थित डेरामा खर्चकाे जाेहाे त्यही उहाँका सहयात्रीहरुले गर्दथे । कति पटक त गुप्ता जीले दिएकाे पैसाबाट रासन म स्वयं पुर्याएकाे थिए । मधेश मुभमेन्टकाे त्याे बेला विभिन्न क्षेत्रमा शरिक रहँदा पनि मजस्तै धेरै मधेशी युवाले कुनै न कुनै ढंगबाट मधेश मुभमेन्टका हिस्सा थियाे ।
चौथो अंगको गरिमा बचाऔँ
अहिलेका नागरिक उन्मुक्ति पार्टीको त कथा जगजाहेर नै छ । अनाहकमा लामाे समय जेल जीवन बिताएर रेशम चाैधरी जीले बनाएकाे पार्टी घरकै सदस्यबाट कब्जा गरिएकाे छ । डा. सिके राउत जीले थालेकाे अभियानमा सुरुवाती समयमा साथ दिएकाे कतिपय अहिले साथमा छैनन् । उहाँहरु धेरै आ-आफ्ना कर्ममा लागेर अमेरिका, इंग्ल्याण्ड, जापान जस्ता तेश्राे मुलुकमा छन् भने कतिपय हाल पनि सहयात्रीकै रुपमा छन् । काेही पार्टीको अनुशासनकाे कारवाहीमा पनि परेका छन् । राजनीति दल नै भएपछि आउ-जाउ, कारबाही जस्ता विषय भइरहनु प्राय: सामान्य नै हाे ।
माथि उल्लेख भएकाे काँग्रेसमा किनारा लागेका भिखाे खड्गा, दुर्गा सुवेदी, प्रदीप गिरिहरु पाँखा लाग्नुमा गिरिजाबाबुकै मात्र दाेष छ कि, उहाँहरुकाे पनि कृयाकलाप कारण हाे ? सद्भावना पार्टीका हस्तीहरु गुमनाम हुनुमा गजेन्द्रबाबुकाे मात्रै दाेष छ कि उहाँका सहयोगीहरुकाे महत्वाकांक्षा पनि ? जयकृष्ण गाेईत नेतृत्वका सहयात्रीहरु रणबीर सिंह, ज्वाला सिंह, प्रताप लगायतका किरदारहरु सबै आर्थिक अनियमितता कारण राजनीति परिदृष्यबाट ओझेल भएकाे पत्रकारहरुले बुझ्ने कि न बुझ्ने ? कि यसकाे दाेष पनि नेतृकर्ता गाेईत जीलाई दिने ? तत्कालीन फाेरमका सहयात्री बीपी यादव किर्ते उपभाेक्ता समिति प्रकरणमा जेलसम्म पुग्नुमा उपेन्द्र यादवकाे दाेष छ ? कि बिपी यादवका महत्वकांक्षा ? कुनै बेला त्यस पार्टीका महान नेता कहलाउने जेपी गुप्ता, बिजय गच्छदार, रेणु यादव, भाग्यनाथ गुप्ता, रामरिझन यादवहरु गुमनाम हुनुमा उपेन्द्र यादव मात्रलाई दाेष लगाउन कति उचित हाेला ? पत्रकारहरु अलि खाेजी गर्ने र भित्री तहसम्मकाे जानकारी प्राप्त गरेर लेख्दा यथार्थ हुने मेरो बुझाई हाे ।
अभिव्यक्ति स्वतन्त्रता: अधिकार कि कुण्ठा पोख्ने माध्यम?
यसरी झट आँखा अगाडि परेकाे चिजलाई मनमा एक खाले कुण्ठा पालेर नेतृत्व मात्रलाई बदनाम गर्ने र आराेपीलाई सुनपानीले धाेईदिने काम सस्ताे लाेकप्रियता बटुल्न हामीलाई चाैथाे अंग र प्रेस स्वतन्त्रताकाे अशिम स्वतन्त्रता संबिधानले कदापि दिएकाे हाेईन । म प्रमुख समाचारदाता र पछि सम्पादक रहेकाे राजविराज टुडे दैनिकबाटै तपाईहरुकाे पत्रकारिता यात्रा सुरु गर्नु भएकाे हाे । एक जना काठमाण्डौ केन्द्रित चर्चित पत्रकार हुनु भाे र अर्का साथि उच्च ओहदामा पुग्नु भाे । आफ्ना सहयात्री बारेकाे ब्यवहार सम्झिन आग्रह मात्र गरेकाे हुँ, कुनै उपदेश दिन खाेजेकाे हाेईन ।
पक्कै पनि आन्दोलन तथा कुनै अभियान संचालन गर्नु र पार्टी चलाउनु अलि फरक बिषय हाे । यसमा पनि भरखर उदाकाे कमजाेर उपस्थितीमा पार्टीलाई सफलता पुर्वक सता सहकार्यलाई अगाडि बढाउन कम चुनाैती हुदैन । संगठन संचालनमा अनुशासन अपरिहार्य हुन जान्छन् । कुनै संगठनलाई एउटा ईमानदार र कर्मठ कार्यकर्ता बनाउन बहुत कठिन कार्य हाे । पार्टीको उच्च ओहदामा पुगेका आफ्ना एक जना कार्यकता गुमाउँदा नेतृत्वलाई कति पीडा भएकाे हाेला ? पार्टीलाई कति क्षति भएकाे हाेला ? त्यसकाे सामान्य आँकलन न गरि केही सहयाेेग गरेकाे, खान दिएकाे, बस्न दिएकाे जस्ता तुक्ष कुरा गरेर कुनै नेतृत्वको मनाेबल गिराउने कार्यलाई शाेभनिय मान्न सकिन्न । जसले नेतृत्व गरेकाे हुन्छ, उसले हमेसा एउटा महान लक्ष्यतर्फ उन्मुख रहन्छ
र हर एक कार्यकर्ता प्रति उत्तिकै माेह रहन्छ किन भने अशल कार्यकर्ता र सुभेक्षुहरुकाे मायाले नै पार्टी बनेकाे हेक्का नेतृत्व नै बढी रहन्छ । एउटा पनि कार्यकर्ता नबिग्राेस प्रति नेतृत्व सचेत पनि रहन्छ ।
लक्ष्य हासिल गर्ने अभियानमा रहेका दल थाेरै मात्र उपलब्धि हाँसिल गर्दा सहयोगीहरुमा महत्वाकांक्षा जाग्छ र तुरुन्तै सबै प्राप्त गरि हाल्ने ईच्छा पनि जाग्छ । फलस्वरूप, सिमित उपलब्धिकाे बलमा सबै ईच्छाहरु पूरा हुन नपाउँदा मेरै सहयाेगमा पार्टी चलेकाे र नेतृत्वले हालीमुहाली गर्दैछ भनी सहयात्रीहरुले कुण्ठा पाल्न थाल्छ । अनि अनुशासनहिनताकाे पनि ठाउँ बनाउन थाल्छन् । यसै अवस्थामा अनुशासनकाे कारवाही अपरिहार्य हुन जान्छन् । अन्यथा, बुढानिलकण्ठ निवासमा भाउजू प्रबृत्तिकाे विकास भएर जान्छन्, जसलाई राजनीति पार्टीकाे लागि सुखद मान्न सकिंदैन् । माथि जिकिर गरिएकाे सामग्रीसँग सम्बन्धित पत्रकारद्वय बिरेन्द्र केएम र श्यामसुन्दर यादव जीहरु पक्कै पनि मधेशका बारेमा चिन्ता र चिन्तन गर्ने हुनुहुन्छ ।
तपाईहरुले पस्केका यस्ता सामग्रीबाट कसैलाई एक छिन पुलपुलाउन मद्दत गर्न सक्छन् र कसैलाई एक छिन दु:खी बनाउन सक्छ । तर, यसले न त तपाईकाे तत्कालीन अभिष्ट पूरा गर्छ न त दिर्घकालिन उद्देश्यलाई पूरा गराउन मद्दत पुग्छ । सिर्फ र सिर्फ पत्रकारितालाई बदनाम गर्छ र राज्यकाे चाैथाे अंगकाे रुपमा अशिम स्वतन्त्रता दिने पुर्खाहरुले सराप्छन् ।