img

सप्तरी प्रिमियर लिग: कञ्चनरूप राइनोजको शानदार जित, राकेश कामत ‘प्लेयर अफ द म्याच’


अपूर्व न्युज समाचारदाता ।
राजविराज, ३० असार । सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो दिनको पहिलो खेलमा कञ्चनरूप राइनोजले दमदार प्रदर्शन गर्दै राजगढ वारियर्सलाई ५ विकेटले पराजित गरेको हाे।

राकेश कामतको विस्फोटक ब्याटिङ, कञ्चनरूप राइनोज विजयी

आइतबार राजगढ वारियर्सले प्रस्तुत गरेको १२५ रनको लक्ष्य कञ्चनरूप राइनोजले १६ ओभरमा मात्र पाँच विकेटको क्षतिमा सहजै पुरा गर्‍यो। राइनोजका लागि ओपनर राकेश कामतले २५ बलमा ८ चौका र ३ छक्कासहित ५४ रनको विस्फोटक अर्धशतक बनाएर जितको बलियो आधार तय गरे। त्यस्तै, राशिद खानले ३० बलमा ३१ रन, र रोनक सिंहले २४ बलमा अविजित १७ रन जोडे।

राजगढका बलरहरूमध्ये बिक्की पासवान र रोशन यादवले समान २ विकेट लिँदै केही दबाव सिर्जना गर्न खोजेका थिए, तर उनीहरूको प्रयास पर्याप्त हुन सकेन।

सप्तरी प्रिमियर लिगमा कञ्चनरूप राइनोजको पाँच विकेटको शानदार जित

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गर्न थालेको राजगढ वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो। वारियर्सका लागि नयन यादवले सर्वाधिक ३३ रन, रोशन यादवले ३२ रन, अजित यादवले १५ रन, र मनिष यादवले अविजित १४ रनको योगदान दिए।
कञ्चनरूप राइनोजका बलिङ पक्षमा पनि उत्कृष्ट प्रदर्शन देखियो। राशिद खान, उमेश चौधरी र अभिमन्यु सरदारले समान २ विकेट, भने मुकेश सिंहले १ विकेट लिए।
सशक्त प्रदर्शन गर्दै राकेश कामत ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगितामा राइनोजको यो जितले उनीहरूलाई अंक तालिकामा बलियो बनाएको छ।


प्रतिक्रिया दिनुहोस् ।