img

हिजो सन्तानका सपना बोकेका हात आज सहाराको खोजीमा छन्


 🖊️ संदिप गुप्ता / विचार
       कञ्चनपुर(सप्तरी)
छात्रवृत्ति, खेल मैदान, रोजगारी, पद वा सदस्यता आजको समाजमा सबैले केही न केही पाएका छन्। तर एउटा यस्तो वर्ग छ, जसको न चासो छ, न चर्चा—उनीहरू हुन्, उमेरको अन्तिम मोडमा आइपुगेका वृद्धवृद्धा। हिजो आफ्ना सन्तानको भविष्यका लागि सपना त्यागेका, जीवनको मिठास सन्तानमा सुम्पिएका ती अभिभावक अहिले एकान्त, पीडा र उपेक्षाको कठोर घेराभित्र छन्।

हजुरबा’को हात थर्थराउँछ, तर छोराको आँखा नमिल्दैन

कतिपय वृद्धहरूको सन्तान विदेश छन्, तिनको अनुपस्थितिबाट त सामाजिक सन्तुलन केही हदसम्म बुझ्न सकिन्छ। तर स्वदेशमै रहेका छोराछोरीहरूबाट समेत उपेक्षा हुनु भनेको सामाजिक मूल्य र मान्यताको ठूलो पतन हो।

❝बाजे–बजैका आँखामा आसु बाटो हेर्दै सुकेका छन्❞

बुढेसकालमा सास फेर्न गाह्रो छ, गोडा काँप्छन्, हात थर्थराउँछन्। तर अभिभावकले कहिल्यै सन्तानलाई बोझ ठान्दैनन्। उल्टै आफ्ना समस्यालाई लुकाउँछन्। तर, छोराछोरीहरूचाहिँ ‘काम छ’, ‘नातिको परीक्षा छ’ जस्ता बहानामा उनीहरूबाट टाढिन्छन्।

यसरी नै चामल त किनिन्छ, तर पकाउने को? औषधि ल्याइन्छ, तर खुवाउने को?

राज्यको वृद्धभत्ता : कोहीलाई वरदान, कोहीलाई अभिशाप

सरकारले दिने वृद्धभत्ता केहीको लागि राहत हो, तर धेरैको लागि टाउको दुखाइ। किनभने भत्ता आएको दिन, कतिपय घरमा बुहारी–छोरीले त्यो रकममा आँखा गाडेका हुन्छन्। कतै तिनै पैसा लिएर ‘आफ्नै बाबुआमालाई’ बिचल्ली पारिएको छ।

अझ दुखलाग्दो कुरा त के छ भने—बुढेसकालमा हुने स्मृतिमा गडबडी, निर्णय क्षमताको कमजोरीलाई बुझेर साथ दिनुको साटो, वृद्धवृद्धाले गाली, अपमान र एक्लोपन भोग्नुपरेको छ।

बाबुआमा ओझेलमा, कुकुर-बिरालोको माया अगाडि

आजको सामाजिक यथार्थ यति कठोर छ कि कतिपय घरमा वृद्ध बाबुआमाभन्दा कुकुर–बिरालोलाई बढी मायाँ गरिन्छ। यस्तो अवस्था हाम्रै भविष्यको छायाँ हो।


प्रतिक्रिया दिनुहोस् ।