अवधेशकुमार झा/सप्तरी
जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा. जयकान्त राउतलाई पार्टीको स्थायी समिति बैठकबाट राष्ट्रिय उपाध्यक्षमा चयन गरिनु केवल एक राजनीतिक नियुक्ति मात्र होइन, यो पार्टीको सिद्धान्त, मूल्य र संस्थागत परिपक्वताको पनि प्रतीक हो। तर दुर्भाग्यवश, यो नियुक्तिपछि केही व्यक्तिहरूले यसलाई आधारहीन आरोपसहित विकृत रूपमा व्याख्या गर्ने प्रयास गरेका छन्। यस्तो प्रवृत्ति न त राजनीतिक परिपक्वताको सूचक हो, न समाजलाई सकारात्मक दिशामा डो-याउने प्रयास।

डा. जयकान्त राउतलाई केवल डा. सिके राउतका दाजु भनेर मात्रै सीमित गर्नु न त बौद्धिक रूपले यथार्थ हो, न नै नैतिक रूपले उचित। उनको जीवन, यात्रा आफैँमा एक प्रेरणादायी कथाजस्तै छ। एक असल विद्यार्थीका रूपमा सुरु भएको यात्रा, सफल कृषि वैज्ञानिक, बौद्धिक अभियन्ता र अब एक समर्पित राजनीतिक नेतृत्वमा विकसित भएको छ। देशका विश्वविद्यालय, अनुसन्धान संस्था र कृषि नीति निर्माणको क्षेत्रमा उनले देखाएको सक्रियता र योगदानलाई बिर्सन सकिन्न।
जनमत पार्टीका संस्थापक अध्यक्ष डा. सिके राउतले जब आफ्नो विद्रोही भूमिकाबाट मुलधारको राजनीतिमा प्रवेश गरे, त्यस प्रक्रिया र परिवर्तनको रणनीतिक पृष्ठभूमिमा डा. जयकान्तको सन्तुलित भूमिका उल्लेखनीय रह्यो।
जनमत पार्टीमा डा. राउतको उदय : नीतिगत निर्णय
उनले फरक सम्भावनाबाट राजनीतिक समाधानको बाटोमा पार्टीलाई डोर्याउन निर्णायक भूमिका खेलेका थिए। आज जनमत पार्टी शान्तिपूर्ण, संविधानसम्मत र जनउत्तरदायी पार्टीका रूपमा स्थापित हुनुमा डा. जयकान्तको राजनीतिक दूरदृष्टि र संगठनात्मक क्षमता अभिन्न छ।
पार्टीको नीति निर्माण, सांगठनिक विस्तार, किसान–कृषि सम्बन्धी एजेण्डा निर्माण तथा वैज्ञानिक सोचलाई राजनीतिमा समाहित गर्न उनले गरेको काम प्रशंसनीय छ। यिनै सबै योगदानको आधारमा, पार्टीको विधानअनुसार, लोकतान्त्रिक प्रक्रियामार्फत उनलाई राष्ट्रिय उपाध्यक्ष बनाइएको हो, न कि कुनै पारिवारिक सम्बन्धका कारण।
यस्तो सन्दर्भमा, डा. जयकान्तको नियुक्तिलाई ‘भाइको पार्टी’ अथवा ‘पारिवारिक कब्जा’ जस्ता आरोप लगाउनु राजनीतिक लघुतावादको उपज हो। लोकतन्त्रमा कुनै पनि व्यक्ति आफ्नो योग्यता, समर्पण र कार्यदक्षताको आधारमा अगाडि बढ्न सक्छ। यहाँ पनि त्यही भएको हो।
राजनीतिक परिपक्वताको प्रतीक: डा. जयकान्तको उपाध्यक्ष नियुक्ति
यदि पारिवारिक सम्बन्ध नै मुख्य कारण हुन्थ्यो भने, पार्टीले उनलाई सुरुदेखि नै शीर्ष पदमा राख्न सक्थ्यो। तर, डा. जयकान्तले पार्टी भित्र बौद्धिक र सांगठनिक कामबाट आफूलाई स्थापित गरेपछि मात्र यो जिम्मेवारी प्राप्त गरेका हुन्।
जनमत पार्टी अहिले देशको एक नवोदित तर सम्भावनायुक्त राजनीतिक शक्ति हो। यो पार्टीको सफल यात्रा नेतृत्वदायी व्यक्तित्वहरूको योग्य संयोजन र प्रतिबद्ध कार्यशैलीमा निर्भर गर्दछ। त्यसमा डा. जयकान्त राउत जस्ता शालीन, विद्वान र अनुशासित नेताको उपस्थिति पार्टीको दीर्घकालीन सफलता र वैचारिक सुदृढीकरणका लागि अनिवार्य छ।
योग्यताको सम्मान, आरोपको खण्डन: जनमत पार्टीको स्पष्ट सन्देश
अन्ततः, डा. जयकान्तको उपाध्यक्ष पदमा चयनलाई ‘भाइवाद’ को चश्माबाट हेर्नुको सट्टा यो पार्टीको नीतिगत निर्णय, लोकतान्त्रिक प्रक्रिया र योग्यताको कदरका रूपमा हेर्न सक्नुपर्छ। यस्ता आरोपहरू स्वयं जनमत पार्टीको राजनीतिक अनुशासन र नेतृत्वको परिपक्वता परीक्षण गर्ने माध्यम हुन्, जसमा हालसम्म पार्टी सफल देखिन्छ।
यो सम्पूर्ण घटनाले एउटा स्पष्ट सन्देश दिन्छ, नेपालको राजनीतिक संस्कार परिवर्तनको बाटोमा छ, जहाँ पारिवारिक हैसियतभन्दा पनि योग्यता र योगदानलाई प्राथमिकता दिन थालिएको छ। जनमत पार्टी र डा. जयकान्त राउतको यो कदम त्यस परिवर्तनको प्रतिमूर्ति बन्न सक्ने सामर्थ्य राख्छ।
लेखक झा प्रेस जनमत संघका अध्यक्ष हुन् ।
