अपूर्व न्यूज समाचारदाता ।
औरही(सप्तरी) १६ असार । औरही नगरपालिका स्थित जनता आधारभूत विद्यालयमा चलचित्र साक्षरतामार्फत सामाजिक चेतना र सिर्जनशीलताको अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हाे।

साेमबार सरिता फाउन्डेसन जनकपुरका निर्देशक तथा अध्यक्ष सरिता साहको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी र शिक्षकहरूसँग प्रत्यक्ष संवादको अवसर प्राप्त भएको हाे।
कार्यक्रममा लेखन, निर्देशन र अभिनयमा आधारित तीनवटा सन्देशमूलक सर्ट फिल्महरू प्रदर्शन गरियो। सर्ट फिल्महरू मार्फत चलचित्र साक्षरताको विषयमा छोटो तर अर्थपूर्ण संवाद पनि सञ्चालन गरिएकाे हाे।
शिक्षा र सिर्जनशीलताको समायोजन: औरहीमा सरिता फाउन्डेसनको अभिनव प्रयास
यस अवसरमा सरिता फाउन्डेसनका अध्यक्ष सरिता साहले चलचित्रलाई सामाजिक रूपान्तरण र चेतनामूलक अभिव्यक्तिको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै भनिन्, “शिक्षा र सिर्जनात्मकताको संयोजनले विद्यार्थीहरूको सोच र दृष्टिकोणमा सकारात्मक प्रभाव पारेकाे हाे।”

कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशील सोचको विकास गर्नुका साथै सामाजिक यथार्थप्रति संवेदनशील बनाउने प्रयास गरेको हाे । साे कार्यक्रममा सन्देशमूलक कथा र दृश्य भाषामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखिएको यस प्रकारका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको हाे।
विद्यालय तहमा विद्यार्थीहरू लागि चलचित्र साक्षरताको महत्व : सोच, संचार र सृजनशीलताको समृद्धि
सरिता फाउन्डेसनका अनुसार आधुनिक शिक्षाको सन्दर्भमा चलचित्र साक्षरता दिन प्रतिदिन महत्वपूर्ण बन्दै गएको छ। विशेषगरी विद्यालय तहका विद्यार्थीहरूका लागि चलचित्र साक्षरताले उनीहरूको बौद्धिक, सामाजिक र सिर्जनात्मक विकासमा उल्लेखनीय भूमिका खेलिरहेको हाे।
विशेषज्ञहरूका अनुसार चलचित्र साक्षरताले विद्यार्थीहरूमा आलोचनात्मक सोचको विकास गर्न मद्दत गर्छ। विद्यार्थीहरूले चलचित्रहरूलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र नलिई, तिनमा समेटिएका सामाजिक सन्देश, सन्दर्भ र दृष्टिकोणहरू बुझ्ने क्षमताको विकास गर्छन्। यस्तो अभ्यासले उनीहरूलाई सामाजिक विषयवस्तुमा गहिरो विश्लेषण गर्न सक्ने बनाउँछ।
त्यसैगरी चलचित्रहरू दृश्य भाषा र संवादमार्फत विचार तथा भावना अभिव्यक्त गर्ने प्रभावकारी माध्यम भएकाले संचार सीपको सुधारमा पनि यसले सहयोग पुर्याउँछ। चलचित्र हेरेपछि आफ्ना विचार व्यक्त गर्ने अभ्यासले विद्यार्थीहरूलाई स्पष्ट र प्रभावशाली ढंगमा संवाद गर्न प्रेरित गर्छ।
यस्ता अभ्यासहरू विद्यालय तहमै सुरु गर्दा विद्यार्थीहरूको सम्पूर्ण व्यक्तित्व विकासमा टेवा पुग्ने शिक्षाविद्हरूको विश्वास छ। चलचित्र साक्षरतामार्फत शिक्षामा नवीनता भित्र्याउने प्रयासहरू आजको समयको आवश्यकता बनेको छ।
विद्यालय परिवारको सक्रिय सहभागिता, विद्यार्थीहरूको उत्साहजनक सहभागिता र आयोजकको लगावले कार्यक्रमलाई थप प्रभावकारी बनाएको हाे। कार्यक्रम सफल बनाउन विशेष योगदान पुर्याउनु भएका सम्पुर्णमा सरिता फाउन्डेसनका अध्यक्ष साहले हार्दिक आभार व्यक्त गर्नुभएकाे हाे ।