अपूर्व न्यूज समाचारदाता ।
चितवन, ८असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चितवनको माडी नगरपालिका–९ मा अवस्थित प्राचीन वाल्मीकि आश्रमको अवलोकन गर्दै जनकपुरधामदेखि वाल्मीकि आश्रमसम्मको धार्मिक मार्ग निर्माणमा सरकारको उच्च प्राथमिकता रहेको बताएका छन्।

आइतबार आश्रमको अध्ययन तथा पूजापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन प्रवर्द्धनका लागि उक्त मार्ग अत्यन्त जरुरी रहेको बताए। उनले भने, “यो स्थल सांस्कृतिक, ऐतिहासिक र धार्मिक दृष्टिले निकै महत्वपूर्ण छ। यदि जनकपुरधाम र वाल्मीकि आश्रमलाई धार्मिक मार्गले जोड्न सकियो भने यो सम्पूर्ण तराई–मधेश र देशकै लागि गर्वको विषय बन्नेछ।”
मुख्यमन्त्री सिंहले आश्रममा अवस्थित पाताल प्रवेश स्थल मा पूजा–अर्चना गर्दै धार्मिक ऊर्जा अनुभव भएको उल्लेख गरे। “वाल्मीकि आश्रम सीता माताको तपोभूमि हो। यस्तो स्थललाई बेवास्ता गर्नु हाम्रो सम्पदाप्रतिको बेवास्ता हो,” उनले भने।
पूर्वाधार अभावप्रति चिन्ता, संघीय सरकारको ध्यानाकर्षण
अहिलेसम्म आश्रमसम्म पुग्ने पूर्वाधार पर्याप्त नबनेकामा चिन्ता व्यक्त गर्दै उनले संघीय सरकार, पुरातत्व विभाग र सरोकारवाला निकायलाई तत्काल ध्यान दिन आग्रह गरे। उनले भने, “मधेश प्रदेश सरकार यस मार्ग निर्माणमा अग्रसर छ। हामी बजेट, योजना र समन्वयमार्फत यो धार्मिक मार्ग निर्माणमा अघि बढ्नेछौं।”
धार्मिक पर्यटनलाई रोजगारी र समृद्धिसँग जोड्ने तयारी
मुख्यमन्त्री सिंहले धार्मिक पर्यटनलाई रोजगारी सिर्जना, समृद्धि र सामाजिक उत्थानसँग जोड्ने नीति लिइएको स्पष्ट पारे। “धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणसँगै क्षेत्रको आर्थिक गतिविधि पनि बढ्छ,” उनले भने, “जनकपुरधाम–वाल्मीकि आश्रम धार्मिक मार्ग मधेश प्रदेशको गौरवको परियोजना बन्नेछ।”
स्थानीयबासीहरू, धार्मिक अभियन्ता र पर्यटकहरू आश्रम क्षेत्रमा रहेका रामायणसँग सम्बन्धित आख्यान, प्राकृतिक सौन्दर्य, र पवित्र स्थलहरू को समुचित संरक्षण र प्रवर्द्धनमा सरकारको चासोले थप उत्साह भरिएको बताएका छन्।