img

रुपनी गाउँपालिकाको लापरवाहीले व्यवसाय धरापमा: ‘बिजनेस विथ टेक्नोलोजी’ कम्पनी भुक्तानी नपाएर समस्यामा


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी), २ असार । सप्तरीको रुपनी गाउँपालिकामा “एसएमएस कार्यालय” स्थापनाको जिम्मा पाएको निजी कम्पनी बिजनेस विथ टेक्नोलोजी प्रा.लि. लामो समयदेखि भुक्तानी नपाएर आर्थिक संकटमा परेको हाे।

६ हजार भन्दा बढी नागरिकहरूको एकीकृत पारिवारिक डिजिटल प्रोफाइल तयार पारिएको ।

कम्पनीले मिति २०८१ साल असार १७ गते सम्झौताअनुसारको सम्पूर्ण कार्य सम्पन्न गरी करिब ६ हजार नागरिकको एकीकृत पारिवारिक विवरण डिजिटल प्रणालीमा रूपान्तरण गरिसकेको थियो।
तर कार्य सम्पन्न भएको एक वर्ष पुग्न लाग्दा पनि सम्झौताअनुसारको भुक्तानी नपाएको भन्दै कम्पनीले सार्वजनिक रूपमा गुनासो गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेणु कुमारी यादवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,

  “हामीले काम सकाएर बिल पेश गरेको झण्डै एक वर्ष भयो, तर विभिन्न बहानामा गाउँपालिकाले भुक्तानी रोकेको छ। यस्तो गैरजिम्मेवार व्यवहारले हाम्रो कम्पनीको आर्थिक स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याएको छ।”

साे कम्पनीका अनुसार बारम्बार ताकेता गर्दा पनि गाउँपालिकाले “फाइल हराएको”, “१८ नम्बर नउठेको” लगायतका असान्दर्भिक बहाना बनाउँदै आएको छ।

रुपनी गाउँपालिकाले विजनेश विथ टेक्नोलोजी प्रा.लि.लाई दिएको कार्यादेश ।

साे कम्पनीले मिति २०८२ वैशाख १९ र जेठ ४ गते गरी दुईपटक लिखित ताकेता पठाइसकेको छ। अन्तिम ताकेतामा भुक्तानी जेठ ३० गतेसम्म नपाए कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट उल्लेख गरिएको थियो। त्यतिबेलासम्म कम्पनीले नेपाल सरकारसमक्ष भ्याट (VAT) समेत समयमै दाखिला गरिसकेको जनाएको छ।

भ्याट तिरेपनि पैसा नपाएको गुनासो, सम्बन्धित निकायहरूलाई कम्पनीले गर्‍यो जानकारी

साे समस्या समाधानका लागि कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (टंगाल र इटहरी), जिल्ला प्रशासन कार्यालय सप्तरी, तथा कोष तथा लेखा नियन्त्रक कार्यालय राजविराजलाई समेत लिखित जानकारी गराइसकेको छ।

गाउँपालिकाको लापरवाही?  “फाइल हरायो” भन्दै भुक्तानी टार्दै आएको आरोप

गम्भीर प्रकृतिको यो विषयमा सम्बन्धित रुपनी गाउँपालिकाले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। स्थानीय तहको यस्ता गैरजिम्मेवार गतिविधिले निजी क्षेत्रको मनोबल गिराउने र डिजिटल प्रविधि विस्तारको लक्ष्यमा असर पुर्‍याउने विज्ञहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस् ।