अपूर्व न्यूज सम्वाददाता ।
काठमाडौं, २३ जेष्ठ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ, तर संसद्को वातावरण भने प्रमुख दलका नेताहरूमाथिका पछिल्ला विवादले संसद् गतिरोधको सन्धिमा ‘तैचुप–मैचुप’ स्थिति निम्त्याएको हाे ।
पतञ्जली जग्गा प्रकरण र रामहरि हत्या मुद्दा: संसद्को माहोल चुपचाप
साे प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ। तर सत्ता र विपक्षी दुवै तर्फबाट धारिलो प्रतिक्रिया आउन नसकेको अवस्था देखिएको छ।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली योगपीठलाई सरकारी स्वामित्वविहीन जग्गा भोगचलनका लागि दिने निर्णयमा संलग्न भएको सार्वजनिक भएसँगै गठबन्धनभित्र दबाब बढेको छ।
पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता सापकोटा विवादमा, संसद् चलाउने वातावरण संकटमा
यो विषय सतहमा आउँदा सत्तापक्ष नै असहज अवस्थामा पुगेको छ।
त्यसैगरी प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रवक्ता अग्निप्रसाद सापकोटा पनि रामहरि श्रेष्ठ हत्याकाण्डसम्बन्धी पुरानो मुद्दा पुनः सक्रिय बनाइएपछि आलोचनाको घेरामा परेका छन्। लामो समयदेखि थाँतीमा रहेको उक्त घटनामा सापकोटाको संलग्नता पुनः छानबिनको दायरामा आउँदा माओवादी केन्द्र पनि स्पष्ट धारणा दिनबाट जोगिएको देखिन्छ।
सत्ता र विपक्षका दुबै शीर्ष नेताहरूमाथिका विवादले राजनीतिक दलहरू एकअर्कालाई प्रश्न गर्न सक्ने नैतिक धरातल गुमाइरहेका छन्। फलस्वरूप संसद्मा प्रभावकारी बहस र कार्यसञ्चालन ठप्पजस्तै देखिएको छ।
अब आजको संसद् बैठकले कस्तो मोड लिन्छ भन्नेमा आम चासो केन्द्रित छ। तर दुवै पक्ष चुपचाप रहने रणनीतिमा देखिएपछि संसद्को गतिरोध तत्काल अन्त्य हुने सम्भावना कम देखिन्छ।