अपूर्व न्युज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),१२ जेष्ठ । मधेस सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीस्थित सप्तकोशी र कञ्चनरुप नगरपालिकामा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास तथा दुई याेजना निरीक्षण गर्नु भएको हाे।

साे साेमबार मन्त्री लेखीले सप्तकोशी नगरपालिका–८ स्थित शिव मन्दिर तथा गुठी प्राङ्गणमा मधेस सरकारको रु. ५० लाखको लागतमा निर्माण हुन लागेको ‘अतिथि भवन’ र सोही लागतमा निर्माण गरिने ‘बाउण्ड्री पर्खाल’ योजनाको शिलान्यास गर्नु भएको हो।
त्यसपछि उहाँले सप्तकोशी नगरपालिका–११, मलेठ पश्चिम टोलमा मधेस सरकारको रु. २५ लाखको बजेटमा निर्माण गरिने धर्मशाला भवनको समेत शिलान्यास गर्नुभएकाे हाे ।
यस्तै कञ्चनरुप नगरपालिका–५, पडेमरामा निर्माण हुन लागेको सामुदायिक धर्मशालाको शिलान्यास गर्दै मन्त्री लेखीले धार्मिक तथा सामाजिक पूर्वाधार विकासप्रति सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको थियो।
साे गृहमन्त्री लेखीले कञ्चनरुप नगरपालिका–७ स्थित भृकुटी माध्यमिक विद्यालयमा निर्माणाधीन नयाँ भवन तथा कक्षा कोठाको अवलोकन तथा निरीक्षण समेत गर्नु भएको छ। त्यसपछि, उहाँले नजिकै रहेको बान्द्रा खोलाको समेत स्थलगत निरीक्षण गर्नुभयो।
शिलान्यास तथा निरीक्षण कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य दिवाकर देवकोटा, सप्तकोशी नगरपालिका–८ का वडा अध्यक्ष केदार प्रसाद साह, वडा नं. २ का अध्यक्ष जाहुर हुसेन, वडा नं. ११ का अध्यक्ष डोलेश्वर खड्गा, कञ्चनरुप नगरपालिका–७ का वडा अध्यक्ष समानन्द चौधरी, एमाले नेता तनुकलाल शर्मा लगायतको सहभागिता रहेको थियो।