अञ्जली पासवान ।
कञ्चनपुर,३ जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धरमपुरमा रहेको बिरेन्द्र केशरी खेमराज आधारभूत विद्यालयमा पक्की भवन निर्माण हुने भएपछि स्थानीयवासीहरू उत्साहित भएका छन्।
मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले शनिबार एक कार्यक्रमबीच विद्यालय भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो।

कार्यक्रममा सहभागी स्थानीयहरूले यस क्षेत्रमै विद्यालय नहुँदा बालबालिकाले लामो दुरी हिँडेर पढ्न जानुपर्ने बाध्यता रहेको बताएका छन्। करिब तीन वर्षअघि मात्रै स्थापना भएको यो विद्यालय अहिलेसम्म जस्ताको छानो भएको एक मात्र फुसको घरमा सञ्चालन हुँदै आएको थियो।
स्थानीय लिलबहादुर मगरका अनुसार हाल विद्यालयमा कक्षा १ र २ मा गरी ६९ जना विद्यार्थी अध्ययनरत छन्। दरबन्दी नहुँदा वडा कार्यालयको सहयोगमा दुई जना शिक्षकको व्यवस्था गरिएको हाे ।
एमाले पार्टीसँग आबद्ध स्थानीय नेताकार्यकर्ताहरूले मन्त्री लेखीसँग भेट गरी विद्यालयका लागि बजेटको माग गरेका थिए।
त्यसपछि मन्त्री लेखीले विद्यालयको स्थलगत अवलोकन गरी पक्की भवन निर्माणका लागि बजेट विनियोजन गर्नुभएको हो।
धरमपुरमा विद्यालय नहुँदा यहाँका बालबालिकालाई नदी पार गर्दै करिब ३ किलोमिटर टाढा रहेको रुपनगर वा वडा नं. ११ को ठेलियास्थित विद्यालय जानुपर्ने बाध्यता थियो।
यसअघि मन्त्री लेखीले सप्तकोशी नगरपालिका–५ मा पाँच वटा योजनाको शिलान्यास सम्पन्न गरिसक्नुभएको जानकारी पनि प्राप्त भएको हाे।