img

घटनास्थलमा पुगे मानव अधिकार समिति : निष्पक्ष अनुसन्धान र न्याय सुनिश्चित गर्न आग्रह

पीडित रामवति देवी रामसँग घटनाबारे कुराकानी गर्दै मानव अधिकार तथा जनसरोकार सप्तरीको टोली ।

दिपेन्द्र पासवान ।
कुशहा (सप्तरी), ६ वैशाख ।
सप्तरीको सुरुङ्गा नगरपालिका–७ की १९ वर्षीया दलित किशोरी पूजा कुमारी रामको रहस्यमय हत्या प्रकरणबारे स्थलगत अनुगमन गर्न मानव अधिकार तथा जन सरोकार समिति सप्तरीको टोली शनिबार घटनास्थल पुगेको हो ।

जिल्ला बार एशोसिएसन अन्तर्गत गठित उक्त समितिका संयोजक अधिवक्ता दिलीप चौधरी नेतृत्वको तीन सदस्यीय टोलीले पीडित परिवार, स्थानीयवासी र छरछिमेकसँग घटना सम्बन्धी विस्तृत जानकारी लिएको हो।

टोलीले घटनास्थलको अवलोकन गरी प्रमाण संकलन गरेको जनाएको हो । टोलीमा संयोजक अधिवक्ता चौधरीसहित सचिव अधिवक्ता रञ्जिता रिजाल र सदस्य अधिवक्ता मोहम्मद रहमुल मन्सुरी सहभागी थिए। संयोजक चौधरीले घटनाको निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

स्थानीयवासी र छरछिमेकसँग घटना सम्बन्धी विस्तृत जानकारी लिदैं मानव अधिकार तथा जनसरोकार सप्तरीको टोली ।
स्थानीयवासी र छरछिमेकसँग घटना सम्बन्धी विस्तृत जानकारी लिदैं मानव अधिकार तथा जनसरोकार सप्तरीको टोली ।

सचिव अधिवक्ता रिजालले मधेश प्रदेशमा महिला हिंसा रोक्न राज्य संयन्त्र प्रभावकारी रूपमा नचलेको भन्दै कानुनी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाइन्। यस्तै, सदस्य अधिवक्ता मन्सुरीले दलित तथा विपन्न समुदायका व्यक्तिहरू अझै न्यायिक प्रक्रियामा सहज पहुँच नपाएको भन्दै समितिको तर्फबाट निःशुल्क कानुनी सहायता प्रदान गरिने बताए ।

स्थलगत अध्ययनपछि पत्रकार सम्मेलन गरी विस्तृत प्रतिवेदन सार्वजनिक गरिने संयोजक चौधरीले जानकारी दिए। “हामी यो प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायहरूमा बुझाएर गम्भीर ध्यानाकर्षण गराउनेछौं,” उनले भने ।

यसैबीच, मृतक पूजाकुमारी रामका विषयमा प्रहरी अनुसन्धान तीव्र पारिएको छ। इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार, पूजाकुमारी विगतमा यौन हिंसाको मुद्दामा पीडित रहिएकी थिइन्। तीन वर्षअघि जबरजस्ती करणी उद्योगको मुद्दामा दोषी ठहर भई फरार रहेका स्थानीय जागेश्वर ठाकुरलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको उनले जानकारी दिए ।
सोमबार राति भाइसँग सुतिरहेकी पूजा मंगलबार बिहानदेखि घरबाट बेपत्ता भएकी थिइन्। भोलिपल्ट गाउँदेखि करिब एक किलोमिटर टाढा तीनगछिया भन्ने स्थानको पोखरी किनारमा उनको शव शंकास्पद अवस्थामा फेला परेको थियो। पूजाकी आमाले छोरीको हत्या गरिएको भन्दै ज्यान सम्बन्धी जाहेरी दिएकी छिन् ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले अनुसन्धान गम्भीरतापूर्वक अगाडि बढाइएको जानकारी दिएका छन्। “पोस्टमार्टम भइसकेको छ तर भिसेरा परीक्षण रिपोर्ट आउन बाँकी छ,” उनले भने, “घटनामा संलग्न हुन सक्ने व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइएको हो ।”

 


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780