दिपेन्द्र पासवान ।
सुरुङ्गा (सप्तरी) ३ बैशाख । सप्तरी जिल्लामा दुई दलित युवतीमाथि भएका दर्दनाक घटनाहरूले दलित महिलाको सुरक्षा, न्याय र सम्मानप्रति राज्य संयन्त्रको उदासीनता रहेको भन्दै मञ्चले गम्भीर आपत्ति र आक्रोश व्यक्त गरेको हो ।

सप्तरीको सुरुङ्गा नगरपालिका–७ की १९ वर्षीया पूजा कुमारी रामको अपहरणपछि रहस्यमय हत्या र सिरहाको नरहा गाउँपालिका–५ की २५ वर्षीया आनन्दीदेवी सदायको आत्महत्याले देश तथा मधेश प्रदेशभर दलित समुदायलाई स्तब्ध बनाएको हो । नयाँ वर्षको दिन घरबाट अपहरणमा परेकी पूजाको शव भोलिपल्ट पोखरीको छेउमा भेटिनु एक योजनाबद्ध अपराध भएको भन्दै मञ्चले दोषीको पहिचान गरी कडा कानुनी कारबाहीको माग गरेको छ।
बुधबार दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोला कुमार पासवानले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “यी घटनाहरूले प्रहरी प्रशासनको ढिलासुस्ती, दोषी उन्मुक्तिको प्रवृत्ति र पीडितप्रति बेवास्ता झल्काउँछ, जसले दलित महिलाहरूको जीवन झनै असुरक्षित बनाएको छ।”

मञ्चले छ बुँदे माग सार्वजनिक गर्दै पीडित परिवारलाई तत्काल न्याय दिलाउन स्थानीय, प्रदेश र संघीय सरकारसँग आह्वान गरेको हो । मागहरूमा दोषीमाथि तुरुन्त कारबाही, पीडित परिवारलाई राहत तथा सुरक्षाको व्यवस्था, निष्पक्ष र छिटो अनुसन्धान, प्रहरीको भूमिकामाथि छानबिन, विशेष कानुनी तथा चेतनामूलक कार्यक्रम सञ्चालन र मानव अधिकार आयोगको सक्रिय हस्तक्षेप समावेश छन् ।
यता आज सुरुङ्गा नगरपालिका–७ की १९ वर्षीया पूजा कुमारी रामकी आमा रामवति देवी रामले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा जाहेरी दर्ता गराउँदै छोरीको हत्या गरिएको आशंका गर्दै अनुसन्धानको माग गरेकी छिन् ।
पीडितकी आमा रामवति देवीका अनुसार उनकी छोरी पूजा कुमारी राम मंगलबार बिहानदेखि घरबाट हराइरहेकी थिइन् । सोही दिन गाउँको महेश्वर यादवले ठेकामा लिएको खेतको छेउमा रहेको पोखरी डिल नजिकको खरमा शव भेटिएको हो । शव पूजा कुमारीकै रहेको पुष्टि भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
जाहेरीमा पूजा कुमारी राम विगतमा पनि यौन हिंसाको मुद्दामा पीडित रहिएकी थिइन् । उनले २०७८ साल मंसिर १४ गते जागेश्वर ठाकुरविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गराएकी थिइन् । सो घटनाको अनुसन्धान पनि जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको हो ।
घटनाको प्रकति हेर्दा रामवति देवीले भनिन् छोरीको शव फेला परेको स्थान, अवस्था, र विगतका मुद्दाहरूको आधारमा हत्या भएको स्पष्ट संकेत देखिएको भन्दै सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेकी छिन् ।