काठमाडौँ, २७ पुस । नेपाल एकीकरणका अभियन्ता तथा तत्कालीन गोरखा नरेश पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सुपुत्रका रूपमा जन्मिएका पृथ्वीनारायण शाहको सम्झनामा सिंहदरबारको पश्चिम मूल ढोकास्थित सालिक परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। प्रत्येक वर्ष यस दिन पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै विविध कार्यक्रम गरिन्छ।

पृथ्वीनारायण शाह विसं १७९९ चैत २५ गते गोरखाको राजा बन्नुभएको थियो। नेपाल विभाजित ५२ राज्यका रूपमा रहेको समयमा शाहले साना राज्यहरूलाई एकीकृत गरी एक सुदृढ नेपाल निर्माण गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो।
शाहको शासनकालमा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपाल विस्तार गर्न सफल हुनुभएको थियो। उहाँका उत्तराधिकारीहरूले यो सीमालाई अझै पश्चिममा किल्ला काँगडासम्म पु¥याएका थिए।
विसं १८०१ मा नुवाकोट विजय गरी नेपाल एकीकरणको शुरुवात गरेका पृथ्वीनारायण शाहले १८२६ सालमा काठमाडौँ उपत्यकालाई आफ्नो शासनअन्तर्गत ल्याउनुभयो। त्यसपछि चौदण्डी, विजयपुरजस्ता स्थानहरू विजय गर्दै देशको भूभाग विस्तार गर्न सफल हुनुभयो ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले सबै जातजाति र भाषाभाषीको समर्थन र सहकार्य लिएर राष्ट्र निर्माणको कार्य अघि बढाउनुभयो। उहाँको योगदानको सम्मानमा देशभर आज विभिन्न कार्यक्रम गरी उहाँको जन्मजयन्ती मनाइएको हाे ।