img

मधेश प्रदेशमा पत्रकारहरूको स्वास्थ्य र दुर्घटना सुनिश्चित गर्न बीमा सम्झौता


अपूर्व न्यूज समाचारदाता ।
जनकपुर,१३ पुस । मधेश प्रदेश सरकारकाे मातहतका आमसञ्चार प्राधिकरणले प्रदेशका क्रियाशील पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बीमा सुनिश्चित गर्न ठूलो कदम उठाएको हाे।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव पत्रकार सम्मेलनमा पत्रकार बीमा बारे अापनाे सान्दर्भिक भनाइ राख्दै ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव पत्रकार सम्मेलनमा पत्रकार बीमा बारे अापनाे सान्दर्भिक भनाइ राख्दै

शुक्रबार प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको आमसञ्चार प्राधिकरणले प्रदेशभर क्रियाशील रहेका पत्रकारहरूको लागि स्वास्थ्य र दुर्घटना बीमा सम्झौता गरेको हो।

सम्झौता अनुसार प्रत्येक पत्रकारको लागि १ लाख रुपैयाँको स्वास्थ्य बीमा र ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिनेछ।

जनकपुरधामस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरिएको हो। राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरे र प्राधिकरणका निमित प्रशासकीय प्रमुख प्रसन्नराज कर्णले सम्झौतामा हस्ताक्षर गरेकाे हाे ।
गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारलाई सञ्चारमैत्री सरकारको रूपमा परिभाषित गर्दै, यो बीमा योजना पत्रकारहरूको सुरक्षा र स्वास्थ्यप्रति सरकारको प्रतिबद्धताको प्रमाण भएको बताए। मन्त्री लेखीले यस योजना निःशुल्क गरिएको र निकट भविष्यमा शहीद परिवारहरूको स्वास्थ्य बीमा समेत निःशुल्क गरिने जानकारी दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका धनुषा अध्यक्ष पुरन साहले यो नीति स्वागत योग्य रहेको र यसलाई निरन्तरता दिन आग्रह गरे।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले,भने-तीन वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील रहेका करिब ८ सय पत्रकारहरूको बीमा नेपाल पत्रकार महासंघ वा सम्बन्धित मिडियाको सिफारिसका आधारमा गरिनेछ ।

यस वर्षको चालु आर्थिक वर्षमा प्रदेश सरकारले यो परियोजनाका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसबाट पत्रकारहरूको स्वास्थ्य र सुरक्षामा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस् ।