अपूर्व न्यूज समाचारदाता ।
जनकपुर,७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल प्रिमियर लिगको शनिबार अन्तिम खेलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको हो ।
आज(आईतबार) मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रेस विज्ञप्ति जारी गर्दै खेलकुदले सम्मान, समानता र सद्भाव बढाउने माध्यमका रूपमा कार्य गर्नुपर्नेमा केही अराजक समूहद्वारा समर्थकमाथि गरिएको आक्रमणलाई निन्दनीय र असह्य बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
मुख्यमन्त्री सिंहलले , “खेलकुद प्रतिस्पर्धामा दर्शकहरूको विभाजन स्वाभाविक भए पनि, यसलाई साम्प्रदायिकता र द्वेषपूर्ण आक्रमणको माध्यम बनाउनु आपत्तिजनक र दुर्भाग्यपूर्ण छ”।
मुख्यमन्त्री सिंहले घटनालाई नेपालको संविधान र कानुनविपरीतको व्यवहारका रूपमा उल्लेख गर्दै कुनै पनि समुदायको परम्परा र मौलिकता प्रति तिरस्कारभाव राख्नुले सामाजिक सद्भावमा खलल पु¥याउने चेतावनी दिए। उनले खेलकुदलाई एकता र सहिष्णुताको प्रतीक बनाउँदै नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन आग्रह गरे ।
घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै मुख्यमन्त्री सिंहले घाइते समर्थकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।
उनले खेलकुदले भूगोल र समुदायबीचको भाइचारा प्रगाढ बनाउन भूमिका निर्वाह गर्नुपर्नेमा यस्ता घटनाले नकारात्मक सन्देश जाने र भविष्यमा सामाजिक एकता कमजोर पार्ने जोखिम रहेको बताएका छन् ।
उक्त प्रेस विज्ञप्तिमा मुख्यमन्त्री सिंहले खेलकुद प्रतिस्पर्धालाई निहुँ बनाएर गरिएको कुनै पनि प्रकारको विभेद,हिंसा र अनर्गल आचरणलाई अस्वीकार्य भन्दै सामाजिक न्याय र शान्तिको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...