अपूर्व न्युज समाचारदाता ।
कञ्चनपुर,८ मंसिर । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा महिलामाथि हुने हिंसाको अन्त्य गर्ने उद्देश्यले “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रम शुक्रबार ऐतिहासिक अन्तर्पुस्ता संवाद कार्यक्रम सम्पन्न भएको हाे।
युएनएफपीएको आर्थिक सहयोग र आसमान नेपालद्वारा सञ्चालित “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमले समाजको तीन पुस्ताबीच खुला संवादलाई प्राथमिकता दिएको छ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका–३ स्थित जनता माध्यमिक विद्यालयको सभा हलमा आयोजित उक्त कार्यक्रममा रुपान्तरण कक्षाका विद्यार्थीहरू, उनीहरूका आमा-बुवा, हजुरआमा-हजुरबुवा गरी तीन पुस्ताको सहभागिता थियो। संवादको मुख्य उद्देश्य तीन पुस्ताबीचको अन्तरसम्बन्धलाई बलियो बनाउँदै महिलाविरुद्धको हिंसाबारे बुझाइ र छलफल गर्न प्रेरित गर्नु रहेको थियो।
हिंसाको अन्त्यका लागि पुस्तागत सहकार्य
कार्यक्रमको क्रममा सहभागीहरुले महिलामाथि हुने हिंसाको विभिन्न पक्षबारे आ-आफ्ना अनुभव, बुझाइ र धारणा साझा गरे। वृद्ध पुस्ताले परम्परागत सामाजिक संरचनाभित्र हिंसा कसरी रहिआएको छ भन्ने अनुभव बाँडे भने युवा पुस्ताले आधुनिक समयमा महिलामाथिको हिंसाका नयाँ रूप र चुनौतीबारे आवाज उठाए। विद्यार्थीहरूले हिंसाको असर, त्यसले समाजमा ल्याउने नकारात्मक परिणामबारे चर्चा गरेकाेे हाे ।
छलफलले तीन पुस्ताबीचको सहकार्यलाई बलियो बनाउँदै समस्याको समाधानमा सामूहिक दृष्टिकोण ल्याउने प्रयास गर्यो। हिंसाका विषयमा भएका संवादले नयाँ पुस्तालाई सचेत र पुराना पुस्तालाई परिवर्तनका लागि प्रेरित गर्ने कार्यक्रम आयोजकको विश्वास छ।
स्थानीयको धारणा र कार्यक्रमको प्रभाव
स्थानीयले कार्यक्रमको उच्च मूल्यांकन गर्दै यसलाई प्रभावकारी कदमका रूपमा स्वीकार गरेका छन्।
“यस किसिमका अन्तर्पुस्ता संवादले हाम्रो समाजमा रहेका नकारात्मक सोच परिवर्तन गर्न सहयोग पुर्याउँछ,” एक सहभागीले भने।
“सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमले महिलामाथि हुने हिंसा अन्त्यका लागि समयसापेक्ष र व्यावहारिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यस प्रकारका कार्यक्रमहरूले हिंसा विरुद्धको चेतना अभिवृद्धि गर्न र सामाजिक व्यवहार परिवर्तन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने देखिएको छ।
साे कार्यक्रममा महिलामाथि हुने हिंसा कम गर्न संवाद, शिक्षा र सामूहिक प्रयास अपरिहार्य मानिन्छ। समाजको विभिन्न उमेर र अनुभवका व्यक्तिबीचको सहकार्यले दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ। यस कार्यक्रमले परम्परागत सोच र आधुनिक दृष्टिकोणलाई मिलाएर समाधानको बाटो खोल्ने प्रयास गरेको छ।
कार्यक्रममा समाजमा महिलाको सुरक्षा र सम्मान सुनिश्चित गर्न मात्र नभई समग्र सामाजिक रूपान्तरणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। महिलाविरुद्धको हिंसा अन्त्य गर्न व्यक्तिगत, पारिवारिक र सामुदायिक स्तरमा यस्तै संवाद र गतिविधि निरन्तर आवश्यक रहेकाे आसमान नेपालका नवीन यादवले बताए।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...