अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर, ३० कात्तिक । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले देशमा संघीय शासन व्यवस्था लागू भएपनि प्रदेशलाई स्वायत्तता प्राप्त नभएको बताएको हो । उनले देशका उत्पीडित र उपेक्षित समुदायले अझै आफ्नो अधिकार प्राप्त गर्न नसकेको बताए।

मन्त्री लेखीले शुक्रबार मिडिया काउन्सिल मधेस प्रदेशद्वारा सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित बलारदहमा आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको समन्वयमा पत्रकार आचारसंहिता सम्बन्धि गोष्ठीमा सम्बोधन गर्दै उक्त कुरा बताएको हो् ।

उनले भने, “संघीय शासन व्यवस्था लागू भएको भएपनि प्रदेशको अधिकार अझै कमजोर रहेको प्रदेशको अधिकार क्षेत्र अझै पनि केन्द्रको नियन्त्रणमा छ, जसका कारण यहाँका उत्पीणित र उपेक्षित समुदायले आफ्नो वास्तविक अधिकार पाउन सकेका छैनन्।”
मन्त्री लेखीले संघीयता र स्वायत्तता विषयमा थप छलफल गर्दै भने, “संघीयता लागू गरेपछि अधिकारको वितरण त आवश्यक थियो, तर यसका लागि संरचनात्मक सुधारको आवश्यकता छ ।
केन्द्रले प्रदेशलाई जसरी अधिकार दिनुपर्छ, त्यसरी दिन सकेको छैन।” गोष्ठिमा पत्रकार र मिडिया प्रतिनिधिहरूसँग छलफल गर्दै, उनले भने, “पत्रकारिता समाजको सुधारमा महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले मिडिया काउन्सिलको कामलाई उच्च मूल्य दिनुपर्छ।”
सो गोष्ठी मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य किरण कुमारी साह, सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णा प्रसाद ढकाल,आम संचार प्राधिकरण मधेस प्रदेश अध्यक्ष श्यामसुन्दर यादव,नीति आयोगकी सदस्य डा. शिला मिश्र, नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति अध्यक्ष राजेश कुमार कर्ण, नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष बैधनाथ झालगायतकाले आ–आपनो सान्दर्भिक विचार व्यक्त गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, पत्रकार हेमशंकर सिंह, सतिष दत्त, नवीन कुमार गुप्ता, विद्यानन्द राम, पिण्टु यादव, अजय अनुरागलगायतले पत्रकार आचारसंहिता उलंघनका घटना न्यूनीकरणका लागि हुनसक्ने उपायबारे सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।
गोष्ठीको अध्यक्षता मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले गरेका थिए भने प्रमुख अतिथि गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका मन्त्री राजकुमार लेखी रहेका थिए । मिडिया काउन्सिलका लेखा अधिकृत फडिन्द्र ढुगेलद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत मुलेश्वर यादवले गरेका थिए ।