img

सञ्चारमन्त्री लेखीबाट मधेसका पत्रकार महासंघलाई ऐतिहासिक अनुदान, प्रत्येक शाखालाई ५ लाख


अपूर्व न्यूज समाचारदाता ।
जनकपुर, २६ जेष्ठ । मधेस प्रदेशका सञ्चार, गृह तथा कानुन मन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रको सुदृढीकरण र सशक्तिकरणका लागि एक ऐतिहासिक निर्णय लिँदै प्रदेशभरका शाखाहरुलाई पाँच लाख रुपैयाँ अनुदान दिने घोषणा गरेकाे हाे।

मधेस प्रदेशका सञ्चार, गृह तथा कानुन मन्त्री राजकुमार लेखी

मन्त्री लेखीले उक्त सहयोग प्रदेश सरकारको बजेट मार्फत विनियोजन गरिने जानकारी दिएका छन्। उनका अनुसार यो सहयोग मधेश प्रदेशका आठ वटै नेपाल पत्रकार महासंघ शाखाहरुलाई कार्यालय सञ्चालन, घरभाडा, कर्मचारी तलबभत्ता, मसलन्द, बत्तीपानीको महसुलजस्ता प्रशासनिक खर्चमा उपयोग गर्न सकिनेछ। यो कदम पत्रकार महासंघलाई सशक्त बनाउन र नियमित सञ्चालनमा देखिएका चुनौतीहरू न्यूनीकरण गर्न महत्त्वपूर्ण हुनेछ।

मन्त्री लेखीले भने, “म आफै पनि पत्रकारिता पृष्ठभूमिबाट आएको हुँदा पत्रकार साथीहरूका समस्या, पीडा र आवश्यकतासँग म निकट परिचित छु।

कार्यालय सञ्चालनमा देखिएको आर्थिक अभाव हटाउन यो सानो प्रयास हो।”
यसअघि मन्त्री लेखीले प्रदेशका सबै आठ जिल्लामा पत्रकार आचारसंहिता सम्बन्धी गोष्ठी, अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिसकेकाे हाे। उनले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न पत्रकार दुर्घटना बीमा कार्यक्रम पनि कार्यान्वयन गरिसकेका छन्। अब त्यो बीमालाई जीवन बीमामा परिणत गर्दै पत्रकार स्वयम्ले प्रत्यक्ष लाभ लिन सक्ने व्यवस्था गर्ने तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस् ।