अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम,२४ जेष्ठ । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई उच्च प्राथमिकता दिइएको भन्दै आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले सरकारप्रति आभार व्यक्त गरेका छन्।

शुक्रबार सार्वजनिक नीति तथा कार्यक्रममा पत्रकारहरूको क्षमता अभिवृद्धि, पत्रकारिता अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम, तथा आमसञ्चार माध्यमको स्थापना, सञ्चालन र प्रवर्द्धनको व्यवस्था समावेश गरिएको हाे।
आमसञ्चारका अध्यक्ष खड्काले भने, “सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई नीति तथा कार्यक्रममा दिएको महत्त्व अत्यन्त प्रशंसनीय छ।
यसले मधेश प्रदेशका आठै जिल्लामा कार्यरत सञ्चारकर्मीहरूलाई गौरवान्वित बनाएको छ।”
उनले विश्वास व्यक्त गरे कि नीति कार्यान्वयनले सयौं श्रमजीवी पत्रकारहरूलाई रोजगारी सिर्जना गर्नेछ भने पत्रकारिता अध्ययनरत विद्यार्थीहरू छात्रवृत्तिबाट लाभान्वित हुनेछन्। साथै, यसले दक्ष जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण टेवा पुर्याउने उल्लेख गरे।
“सञ्चार क्षेत्रमा देखिएको यो सकारात्मक पहलप्रति मुख्यमन्त्री, गृह, सञ्चार तथा कानुन मन्त्री, अर्थ मन्त्री, नीति आयोगलगायत सम्पूर्ण सरकारी संयन्त्रलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,” अध्यक्ष खड्काले भने।
सञ्चारजस्तै लोकतन्त्रको मेरुदण्डसमेत मानिने क्षेत्रलाई यसरी प्राथमिकता दिइनु मधेश प्रदेशमा सुशासन र जनउत्तरदायी प्रशासनको दिशामा सकारात्मक संकेतको रूपमा हेरिएको छ।