अपूर्व न्यूज समाचारदाता ।
राजविराज, ३ जेष्ठ । मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा प्रत्येक वर्ष मनाइने मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीसहित अन्य नेताहरु संयुक्तरूपमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अनुगमन तथा निरीक्षण गर्नुका साथै त्यहाँ उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेकाे हाे ।

शनिबार कानुन मन्त्री राजकुमार लेखीकाे नेतृत्वमा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा सप्तरी इञ्चार्ज सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष ताराकान्त चौधरी लगायतका नेताहरूले संयुक्तरूपमा अस्पताल अनुगमनका क्रममा नेताहरूले बिरामीहरूको अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य सेवा प्रवाहको विषयमा चासो व्यक्त गरेका थिए । साे अस्पतालका बिरामीहरूलाई आत्मबल बढाउने उद्देश्यले उनीहरूलाई फलफूल वितरण गरिएको जनाइएको छ।
साे अवसरमा नेताद्वय लेखी र प्याकुरेल सहितको टोलीले जिल्ला रेडक्रस सोसाइटी सप्तरीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा समेत सक्रिय सहभागिता जनाएका छन्।
मानव सेवाका कार्यहरूमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गर्दै नेताहरूले यस्तो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।
यस प्रकारका कार्यक्रममार्फत जनताको पीडामा साथ दिँदै समाजमा मानवीयता र सहानुभूतिको सन्देश प्रवाह गर्नु वर्तमान नेतृत्वको प्रतिबद्धता हो भन्ने स्पष्ट सन्देश जनसमक्ष पुर्याइएको छ।