अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), २ जेठ । मानव अधिकारका लागि महिला–एकल महिला समूह सप्तरीको आयोजनामा र Women for Freedom (स्वतन्त्रताको लागि महिला) संस्थाको सहयोगमा विशेष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम शुक्रबार कञ्चनरुप नगरपालिकाको कञ्चनपुरमा आयोजना गरिएको हो । जसको उद्देश्य आर्थिक रूपमा कमजोर र एकल महिलाका छोरीहरूलाई शैक्षिक सहयोग प्रदान गर्नु रहेको हो ।
कार्यक्रम अन्तर्गत कञ्चनरुप नगरभित्रका २३ जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले आर्थिक छात्रवृत्ति प्रदान गरिएको हो । आयोजक संस्थाका अनुसार छात्रवृत्तिबाट लाभान्वित हुने सबै विद्यार्थीहरू विपन्न, दलित र एकल महिलाका छोरीहरू हुन् । यो सहयोगले उनीहरूलाई पढाइ जारी राख्न प्रोत्साहन पुग्ने विश्वास गरिएको हो ।
कार्यक्रममा मानव अधिकारका लागि महिला–एकल महिला समूह सप्तरीकी अध्यक्ष किरण रौनियारले विशेष सम्बोधन गर्दै भनिन्, “संघर्ष गरे सम्भव हुन्छ भन्ने उदाहरण कञ्चनरुप–८ मा निर्मित एकल महिला छहारी भवन हो, जुन एकल महिलाको लागि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको केन्द्र बन्नेछ ।”

उनले थप भनिन्, “राज्यसँग लगातार संवाद गर्दै जिल्लादेखि केन्द्रसम्म एकल महिला र उनीहरूको सन्तानको हितमा नीति निर्माण र कार्यान्वयनका लागि हामी अग्रसर छौं । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका सबै पक्षमा एकल महिलाको पहुँच सुनिश्चित गराउन यो कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउनेछ।”
छात्रवृत्ति वितरण कार्यक्रमले सामाजिक समावेशिता, महिला सशक्तीकरण, शिक्षा प्रवद्र्धन तथा अभावमा रहेका वर्गलाई मुख्य प्रवाहमा ल्याउन सहयोग पुग्ने सहभागीहरूले बताए ।
उनीहरूका अनुसार यस्तो प्रकारका पहलहरूले दलित, विपन्न र एकल महिला समुदायको छोरीहरूलाई आत्मबल र आत्मनिर्भर बन्ने आधार तयार पार्दछ ।
साे छात्रवृत्ति पाएका २३ जना छात्राहरुका आमाहरुलाई एक थान साडीसमेत वितरण गरिएको हाे ।
कार्यक्रममा सामाजिक अभियन्ता, महिला अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । संस्थाले आगामी दिनमा अझ धेरै विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै यस्ता सहयोगमूलक कार्यक्रम विस्तार गरिने जानकारी पनि दिएको हो ।